७ असार, मोरङ ।
जिल्लाको सुन्दरहरैचामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
आइतबार राति पौने ८ बजे भएको दुर्घटनामा धनकुटा पाख्रिबासका ५० वर्षीय कृष्णबहादुर थापा र सुनसरीको इटहरी उपमहानगरपालिका–४ का अन्दाजी ३५ वर्षीय दीपु शाहको मृत्यु भएको हो ।
थापा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव हुन् । त्यसअघि राप्रपा प्रजातान्त्रिकमा पनि जिल्ला सचिव थिए । सुनिल थापासँगै कांग्रेसमा गएका उनले कांग्रेसमा जिल्ला सचिवकै जिम्मेवारी पाएका थिए । साह बेलबारीस्थित एनएमबी बैंक शाखा कार्यालयका कर्मचारी रहेको बताइएको छ ।
दुर्घटनामा थापाका भाइ २७ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विराटनगरको विराट नर्सिङ होम रेफर गरेको छ । दुर्घटनामा परेको को३६प ५९७९ नम्बरको मोटरसाइकलका कृष्णबहादुरले चलाएका थिए ।
इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार पूर्व–पश्चिम लोकमार्गमा पर्ने सुन्दरहरैँचा नगरपालिका–९ विराटचोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको टिपरले विपरीत दीशातर्फ आउँदै को३६प ५९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्कर दिँदा बेलबारीबाट इटहरीतर्फ आउँदै गरेको शाह सवार २९प९५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो । थापा चढेको मोटरसाइकल पनि त्यसरी नै सँगै दुर्घटना भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा तीन जना गम्भीर घाइते भएका थिए । दुई जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति ९ः३० बजेतिर मृत्यु भएको हो ।
दुर्घटनापछि टिपरसहित त्यसका चालक फरार छन् । टिपरको नम्बर पनि खुलेको छैन । रातको समयमा तीब्र गतिमा हुइकिएको टिपरको खोजी भइरहेको प्रहरीले बताएको छ ।