७ असार, बझाङ ।
जिल्लाको साइपाल गाउँपालिका–५ का गोरख धामीका छोरा काम गर्न भारत गएका छन् । उनी ३÷४ महिनाको फरकमा घरखर्चका लागि पैसा पठाउँछन् ।
छोराले पठाएको पैसा बुझ्न गोरखलाई भने सजिलो छैन । पैसा ल्याउन तीन दिन हिँडेर सदरमुकाममा जानुपर्छ । आउन–जान लगाएर ६ दिनको यात्रा गर्नुपर्छ ।
गत महिना छोराले पठाएको पैसा उनले यसरी नै ल्याएका थिए ।
‘भिरको जोखिम बाटो छ उकालो–ओरालो धेरै गर्नुपर्छ, सदरमुकाम जाँदा धेरै सकस हुन्छ,’ उनले भने ।
उनी सदरमुकाम आउँदा बाक्लो लुगा, जुत्ता लगाउँछन् । पिठयुँमा झोला भिर्छन् । यात्रा गर्दा उनको साथी हातको लौरी हुन्छ ।
हिँड्दा–हिँड्दै साँझ परे बाटोमा भेटिएका साना त्रिपाल लगाएर बनाइएका होटलमा बास बस्छन् ।
बाटोमा हिँड्दा उनलाई लाग्छ– हाम्रो ठाउँमा सरर गाडी गुड्ने बाटो भए यसरी हिँड्नु पर्दैन थियो होला ।
सदरमुकाममा जाँदा र त्यहाँबाट फर्किने बेला अनेक कल्पना गर्दै पुग्ने गरेको उनी बताउँछन् ।
सदरमुकाममा सडक, गाडी, ठूल्ठूला घर, सरकारी कार्यालय, पसल, बिजुलीका पोल, बैंक आदिजस्ता पूर्वाधार देख्दा उनलाई आफ्नो गाउँ अर्कै देशजस्तै लाग्छ रे ।
सदरमुकामको जस्तो सुविधा नभए पनि गाउँमा एउटा बैंक भइदिएको भए ६ दिनको यात्रा गर्नु पर्दैन थियो कि भन्ने उनलाई बारम्बर लागिरहन्छ ।
सदरमुकाममा उनी छोराले पठाएको पैसा लिनमात्रै आउँदैनन् । गाउँपालिकाको कार्यालयमा केही काम परे पनि उनी त्यहीँ पुग्नुपर्छ ।
गाउँपालिकाको सम्पर्क कार्यालय सदरमुकाम चैनपुरमा छ ।
गोरखजस्तै साइपाल गाउँपालिकाका पाँचै वडाका स्थानीयले पैसाको कारोबार गर्न, बाहिरबाट पठाएको पैसा बुझ्न, गाउँपालिकामा केही काम परे पैदल हिँड्दै सदरमुकाम नपुगी हुँदैन । गाउँपालिकामा अहिलेसम्म सडक पुगेको छैन ।
सुदूरपश्चिम प्रदेश सरकारका अनुसार प्रदेशका ८८ स्थानीय तहमध्य बझाङको साइपाल गाउँपालिकामा मात्रै बैंक तथा वित्तीय संस्था सञ्चालनमा आउन सकेका छैनन् ।
भौगोलिक विकटताले सडक, सञ्चार, विद्युत विस्तार हुन नसक्दा साइपालमा अहिलेसम्म बैंक तथा वित्तीय संस्था पनि सञ्चालनमा आउन नसकेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले जानकारी दिए ।
सरकारले सबै स्थानीय तहमा बैंक तथा वित्तीय संघसंस्था अनिवार्य सञ्चालनमा ल्याउनु पर्ने व्यवस्था गरेको छ । तर, यहाँका जनताले यी सेवाका लागि झन्डै एक साता पैदल हिँड्नु पर्छ ।
बैंक सञ्चालन गर्न आवश्यक पर्ने सामान गाउँपालिकासम्म पु¥याउनै कठिनाइ भएको गाउँपालिकाका इन्जिनियर विक्रम खड्काले जानकारी दिए ।
‘बैंक स्थापना गर्ने भनेर प्रक्रिया भएको छ तर तत्काल कठिनाइ हुँदा पूरा हुन सकेको छैन, यहाँका स्थानीय, कर्मचारी सबैले लामो जोखिमपूर्ण यात्रा गरेर सदरमुकाममा पुग्नुपर्छ,’ उनले भने ।
गाउँपालिकामा गत वर्षदेखि टेलिफोन सेवाका लागि नमस्तेको टावर स्थापना गरिएको थियो ।
त्यसले केही रूपमा राहत पुगे पनि पानी परे, घाम नलागेका दिन र साँझ–बिहान टावर आउँदैन ।
आवश्यक महत्वपूर्ण कामका बेला मोबाइलको टावर जाँदा यहाँका जनप्रतिनिधि, स्थानीयले हैरानी व्यहोर्नु परेको छ ।
विद्युत विस्तारका लागि लघु जलविद्युत आयोजना सञ्चालनमा ल्याएर भर्खरै काम भइरहेको इन्जिनियर खड्काले जानकारी दिए ।
‘विद्युत, नेटबाट हुने काम त्यहाँ सम्भव नभएपछि सदरमुकाममा सम्पर्क कार्यालय स्थापना गरेर काम गरिरहेका छौ,’ उनले भने ।
उनले महिनामा एक पटक कर्मचारीहरू गाउँपालिकामा पुग्ने गरेको बताए ।
साइपाल गाउँपालिकामा ३ सय घरधुरी रहेका छन् भने, ३ हजार ५ सय बढी जनसंख्या रहेको गाउँपालिकाले जनाएको छ ।