खोप लगाउन मान्दैनन् रुसी नागरिक, फेरि बढ्न थाल्यो कोरोना संक्रमण

६ असार, काठमाडौं ।

रूसका नागरिकले कोरोनाविरुद्धको खोप लगाउन नमान्दा त्यहाँ कोरोनाभाइरसको संक्रमण बढ्न फेरि थालेको छ । पछिल्लो समय राजधानी मस्कोलगायत क्षेत्रमा संक्रमित बढ्न थालेका हुन् । संक्रमितमध्ये धेरैलाई भारतमा फेला परेको डेल्टा भेरियन्ट देखिएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

गत शुक्रबार मस्कोमा ९ हजार ५६ जना संक्रमित थपिएका थिए । मस्कोमा कोरोना महामारी सुरू भएपछि पहिलो पटक एकैदिन यति धेरै संक्रमित थपिएका हुन् ।

संक्रमण बढ्न थालेपछि मस्कोका अधिकारीहरूले कोरोना वार्डमा ५ हजार बेड थपेका छन् ।

वर्ल्डोमिटरको आँकडाअनुसार रूसमा पछिल्लो २४ घन्टामा १७ हजार ९ सय ६ जना संक्रमित थपिएका छन् भने ४ सय ६६ जनाको मृत्यु भएको छ ।

रूसमा हालसम्म ५२ लाख ९९ सय हजार मानिसमा कोरोना संक्रमण भएको छ भने १ लाख २८ हजारको मृत्यु भएको छ ।

रूसी राष्ट्रपति भ्लादमिर पुटिनले संसारमै सबैभन्दा पहिला गत वर्ष अगस्टमा कोरोनाभाइरसविरूद्धको खोपलाई अनुमति दिएका थिए । स्पुतनिक–भी नामक उक्त खोपलाई अनुमति दिएको महिनौं बित्दा पनि रूसी नागरिकहरू खोप लगाउन हच्किरहेका छन् ।

जबकी विभिन्न अध्ययनहरूले स्पुतनिक–भी कोरोनाविरूद्ध प्रभावकारी रहेको देखाएका छन् । न्युयोर्क टाइम्सका अनुसार अहिलेसम्म रूसमा जम्मा ९.९ प्रतिशत मानिसले मात्र पूर्ण खोप लगाएका छन् ।

देशकै वैज्ञानिकहरूले खोप बनाइरहँदा पनि मस्कोलगायत शहरका मानिसहरूले खोप लगाउन मानिरहेका छैनन् । उनीहरूले खोप नलगाउनुका विभिन्न कारण छन् ।

रूस सरकारले खोपसँगै आफ्नो शरिरमा माइक्रोचिप्ससमेत राखिदिने मानिसहरूले आशंका गरेका छन् । त्यसपछि सरकारले आफ्नो हरेक कदमलाई ट्र्याक गर्न सक्ने उनीहरूको चिन्ता छ । साथै, आफ्ना अन्य पुस्तालाई पनि त्यसरी नै ट्र्याक गर्न लागेको उनीहरूको आशंका छ ।

स्वतन्त्र सामाजशास्त्रीहरूले खोप लगाउनमा आनाकानी हुनु नागरिक र रूसी सरकारबीच टुटेको विश्वासको संकेत भएको बताएका छन् ।

‘खोपलाई अस्वीकार गर्नु रूसी नागरिक र अधिकारीहरूबीच टुटेको सम्बन्धको कारण हो,’ लेभादा सेन्टरका वरिष्ठ अनुसन्धानकर्ताले भने ।

मस्कोमा रूसीहरूका लागि खोप निःशुल्क छ । मस्कोका पार्क, मल, सपिङ सेन्टरलगायत विभिन्न ठाउँमा खोप केन्द्र बनाएको छ। साथै खोप लगाएपछि कतिपय ठाउँमा आइसक्रिमसमेत दिइएको छ ।

सरकारले नागरिकलाई खोप लगाउन उत्प्रेरित गर्न केही भत्ता र निःशुल्क हवाई सेवासमेत दिएको छ ।

केही समयअघि मस्कोका मेयर सर्गेइ सोबयानिनले आफ्ना नागरिकलाई खोप लगाउन भनेका थिए । उनले युरोपका शहरहरूमध्ये मस्कोमा सबैभन्दा थोरै प्रतिशत मानिसहरूले खोप लगाएको बताएका थिए ।

एक करोड २० लाख नागरिक भएको मस्कोमा १३ लाखले मात्रै खोप लगाएका छन् ।

’मानिसहरू मरिरहेका छन्, तर उनीहरूलाई खोप लगाउन मन लाग्दैन,’ मेयर सोबयानिनले भने ।

लेभादा सेन्टरको सर्वेक्षणअनुसार ६२ प्रतिशत नागरिकले खोप लगाउन आनाकानी गरिरहेका छन् भने ५२ प्रतिशत रूसीलाई कोरोना लाग्ने डर छैन ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here