६ असार, काठमाडौं ।
आम्दानीका लागि गुञ्जनगरका कमलप्रसाद अर्यालले डेढ बिघा जमिनमा फूलखेती गरेका छन् । उनको बारी नै ढकमक्क फूलले ढाकेको छ ।
उनी दिनहुँ फूलबारीमा पुग्छन् । फुलेका फूलहरू देखेपछि उनी खिन्न हुन्छन् । मिहिनेत र खर्च गरेर उत्पादन गरेको फूल उनले बिक्री गर्न पाएनन् । बेच्न नपाउँदा बारीमै फूल ओइलिएको छ । उनले तीन ओटा फूल बिक्री गर्ने लक्ष्य लिएका थिए ।
अर्यालले डेढ बिघा जमिनमा ग्ल्याडिओलस लगाएका छन् । यो विवाह, उत्सव, पाहुना स्वागत सत्कारमा प्रयोग हुन्छ । कोभिड संक्रमणको जोखिमले सबै कार्यक्रम बन्द भए । त्यसको असर फूल खेतीमा पनि प¥यो ।
‘लगानीको हिसाबले तरकारीमा भन्दा फूलखेतीमा बढी हुन्छ । लकडाउनले कार्यक्रम नै नभएपछि सभा समारोहमा मात्रै प्रयोग हुने फूल बिक्री भएन’, अर्यालले भने, ‘बारीमा सुकाएर फाल्नुको विकल्प रहेन ।’ बिक्री गर्न पाएको भए उनले ४० लाखको फूल बिक्री गर्थे । व्यावसायिक रूपमा गरिएको फूलखेतीले बजार पाउन नसकेपछि उनी निराश छन् । उनले गत वर्ष पनि घाटा व्यहोरे । यो वर्ष ३० लाखको बिक्री गर्ने लक्ष्य थियो उनको ।
करिब डेढ लाखको मात्रै बिक्री गरेपछि लकडाउन सुरु भयो । अत्यावश्यक सेवामा परेका खाद्यवस्तु, तरकारी बिक्री भए । तर फूलखेती गर्ने किसानको लगानीसमेत डुबेको छ ।
फूलखेतीबाट लगातार दोस्रो वर्ष पनि घाटा भएपछि कमलप्रसादकी श्रीमती कृष्ण अर्यालले राज्यले फूलखेती गर्ने किसानका लागि केही नगरेको गुनासो गरिन् । ‘अन्य कृषि व्यवसायलाई अनुदान या बजारको लागि सरकार नै लाग्छ’, उनले भनिन्, ‘उत्पादन गरेपछि भएको नोक्सानीमा राज्यले केही गरिदिएन ।’
फूल प्रतिगोटा सानो र ठूलो हेरी १२ देखि २० रुपैयाँसम्म बिक्री हुन्छ । बिक्री गर्न नपाएपछि किसानको लगानी डुबेको हो। पुष्प व्यवसायअन्तर्गत चारवटा क्षेत्र हुन्छ । माला, सजावटमा प्रयोग गर्ने कट फ्लावर उत्पादक, कट फ्लावर बिक्रेता, बिरुवा उत्पादन तथा बिक्री वितरण र गार्डेनिङ पर्छन् । बन्दले सबैभन्दा बढी प्रभाव उत्पादकलाई पारेको छ । लगानी, बिउबिजनको खर्चसमेत धानेनन् ।