राजमार्ग खुलाउनेबारे सभामुख र यातायात मन्त्रीबीच छलफल

६ असार, काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटाले अरनिको राजमार्ग पुनः सञ्चालन गर्ने सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङसँग छलफल गरेका छन् ।

तातोपानी–कोदारी क्षेत्रमा बाढी कटानबाट भइरहेको क्षति न्युनिकरण एवं जोखिममा परेका स्थानीको सुरक्षित स्थानान्तरणका विषयमा छलफल गरेको सभामुख सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले बताए ।

गएरातिको अविरल बर्षाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित तातोपानी–कोदारी क्षेत्रमा अरनिको राजमार्ग र लिपिङ पुलमा क्षति पुर्याएपछि सभामुख सापकोटाले यस विषयमा मन्त्री नेम्बाङमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले जोखिममा परेका स्थानीको उद्धार, सुरक्षित बसोबास एवं बन्द सडक तत्काल सञ्चालनमा ल्याउन ध्यानाकर्षण गराएका छन् ।

सभामुख सापकोटा र मन्त्री नेम्बाङबीचको सम्वादपछि आजै सडक विभागका महानिर्देशक अर्जुनजंग थापासहितको टोलीले कटान क्षेत्रको स्थलगत अवलोकन गरेको छ । महानिर्देशक थापाले केही दिनभित्रै बन्द सडक सुचारु गरिने बताएका छन् ।

भोटेकोशीको कटानले लिपिङ पुलमा क्षति पुगेको र अरनिको राजमार्ग अन्तरगतको सडक ठाउँ ठाउँमा भासिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here