६ असार, सप्तरी ।
जिल्लामा एक नौ वर्षीया बालिकाको विभत्स हत्या भएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारी हत्या गरिएको अवस्थामा शनिबार भेटिएकी हुन् ।
परिवारका सदस्यका अनुसार शिवानी पाँच वर्षीया बहिनीसँग बाख्रा चराउन घरबाट निस्केकी थिइन् । सामान्य पानी पर्न थालेपछि बहिनीलाई घर पठाएर हटेल पूर्वी टोलस्थित फूलबारीमा हावाले झारेको आँप टिप्न थालेकी शिवानीको हत्या भएको स्थानीयवासीले बताएका छन् ।
प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले घटनास्थल पुगेर अनुसन्धान थालिएको बताए । अनुसन्धानलाई सघाउन तालिम प्राप्त कुकुर मगाइएको प्रहरी उपरीक्षक धमलाको भनाइ छ ।
आसपासका खेतमा धान रोप्ने, हलो जोत्नेहरू रहे पनि कसैले केही थाहा नपाएको बताएका छन् । शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । (रासस)