ठाकुरपक्षले कीर्ते कागजात आयोगमा बुझाएको यादव पक्षको आरोप

६ असार, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरमाथि फर्जी कागजात बनाएको आरोप लगाएको छ । निर्वाचन आयोगमा ठाकुर पक्षले बुझाएको कागजहरु कीर्ते भएको यादवपक्षको आरोप छ ।

‘कार्यकारिणी हेरफेर, प्रमाणीकरण तथा पार्टीको आधिकारिक पत्राचारको अधिकार’ ठाकुरलाई दिएको भन्ने फर्जी निर्णय निर्वाचन आयोगमा बुझाइएको उपेन्द्र पक्षले आरोप लगाएको हो ।

जसपाभित्र विवाद बढ्दै गएपछि महन्थ पक्षले २०७७ पुस ७ गते बसेको कार्यकारिणी समितिको बैठकले जसपाको कार्यकारिणी समिति हेरफेर तथा पुनर्गठनसम्बन्धमा ठाकुरलाई अधिकार प्रत्यायोजन गरेको भन्दै असार १ गते कार्यकारिणी समिति हेरफेर गरिएको जानकारी आयोगमा बुझाएका थिए ।

पुस ७ गतेको निर्णयलाई आधार बनाएर ठाकुरले पूर्वराजपाका ६ र पूर्वसमाजवादी तर्फका १४ जनालाई हटाएर २० जनालाई नयाँ सदस्य मनोनित गरिएको भन्दै अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

तर, उपेन्द्र पक्षले हुँदै नभएको निर्णयलाई निर्णय भएको भनि झुटा विवरण किर्ते र जालजासी गरेर निर्वाचन आयोगमा पत्र दर्ता गराएको दाबी गरेको छ ।

‘पुस ७ गतेको बैठकमा केन्द्रीय कार्यकारिणी हेरफेर तथा पुर्नगठन गर्ने अधिकार महन्थ ठाकुरलाई दिने प्रस्ताव कार्यसूचीमै थिएन र त्यस्तो कुनै निर्णय पनि भएको छैन,’ जसपा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले, ‘हुँदै नभएको निर्णयलाई किर्ते र जालजासी गरी महन्थ ठाकुरले निर्वाचन आयोगमा पत्र दर्ता गराएका छन् ।’

निर्वाचन आयोग, पार्टी पंक्ति र आमजनतालाई गुमराह गर्ने उद्देश्यले नक्कली बैठक पुस्तिका तयारी गरी गरिएको कार्य अनैतिक, गैरकानुनी तथा दण्डनीय रहेको उनको भनाइ छ ।

पुस ७ गते बसेको जसपा कार्यकारिणी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटको कदमविरुद्ध आन्दोलनको कार्यक्रममात्र घोषणा गरेको खतिवडाले बताए ।

पुस ७ गतेको बैठकपछि जसपाले जारी गरेको विज्ञप्ति र अन्तरपार्टी परिपत्रमा पनि प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा देशका विभिन्न स्थानमा खटाइएका नेताहरूको विवरणमात्र उल्लेख गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here