चाँगुनारायण र मध्यपुरद्वारा मेलम्ची र हेलम्बुलाई सहयोग

५ असार, भक्तपुर ।

जिल्लाका चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाले बाढी र डुवानबाट प्रभावितको उद्धार तथा राहतका लागि सिन्धुपाल्चोकका मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

चाँगुनारायण नगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले मेलम्ची नगरपालिकालाई रु. १० लाख र हेलम्बु गाउँपालिकालाई रु. पाँच लाख दिने निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । नगरप्रमुख मिश्र र उपप्रमुख बिना बास्तोलाको टोली आजै मेचम्ची पुगेका छन् ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिकाले पनि मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई रु. २२ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले विपद्मा परेको दुई पालिकाका नागरिकको उद्घार र राहत वितरणमा टेवा पुरयाउन रकम दिने निर्णय गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाले मेलम्चीलाई ११ लाख ११ हजार १ सय ११ र हेलम्बुलाई रु. ११ लाख ११ हजार १ सय ११ गरि रु. २२ लाख २२ हजार २२ सहयोग गर्ने निर्णय अनुसार रकम बैँक मार्फत पठाइने बताइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here