महिला मन्त्री चौधरीलाई गृहनगरमा स्वागत

५ असार, महोत्तरी ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीलाई उनको गृहनगरमा भव्य स्वागत गरिएको छ । उनको जन्म स्थान महोत्तरीको मटिहानीका स्थानीयले उनको स्वागत गरेका हुन् ।

मन्त्री भएपछि पहिलो पटक शुक्रवार जन्म स्थान महोत्तरीको मटिहानी पुगेकी चौधरीको स्वागतका लागि मटिहानी नगरपालिकाले औपचारिक कार्यक्रम आयोजना गरेको थियो । उक्त स्वागत तथा सम्मान समारोह कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले आफ्ना शुभेच्छुकलाई धन्यवाद दिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आफ्ना स्वर्गीय दाइलाई सम्झेर उनी भावुक भएकी थिइन् । उनले भनिन्, ‘म कहिल्यै क्याबिनेट मन्त्री हुन्छु भनेर सोचेको थिइनँ, तपाईंहरुको माया, आर्शिवाद र सहयोगले म आज क्याबिनेट मन्त्री भएको छु । यसको सम्पूर्ण श्रेय तपाईँहरुलाई जान्छ ।’

जहिले पनि मटिहानी आउँदा स्थानीयको अपार साथ, समर्थन र सहयोग पाएको भन्दै उनले मन्त्री पदमा भए वा नभए पनि सधैँ मटिहानीको जनताको पक्षमा रहने र सुख दुखमा साथ दिने प्रतिबद्धता व्यक्त गरिन् । उनले स्थानीयबाट पाएको साथको प्रशंसासमेत गरिन् । उनको उपस्थितिले स्थानीय पनि खुसी देखिन्थे ।

त्यस्तै, मन्त्री चौधरीले आज बिहान जनकपुरस्थित जानकी मन्दिरमा पुजाआजा र दर्शन गरेकी छन् । जानकी मन्दिरका मुख्य पुजारीले मन्त्री चौधरीलाई स्वागत गरेका थिए ।

शनिबार नै मन्त्री चौधरीले प्रदेश २ का प्रदेश सांसदहरुसँग भेटघाट र शुभकामना आदान प्रदान समेत गरेकी छन् । उनले नागरिक समाज, स्थानीय नेता कार्यकर्ता, आम सर्वसाधारण पत्रकारहरुसँग छोटो छलफल समेत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here