५ असार, काभ्रे ।
कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गर्न थालिएको छ । काठमाडौको पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा घण्टौँ पालो कुर्नुपर्ने अवस्था आएपछि वैकल्पिक शव व्यवस्थापनस्वरुप काभ्रेपलाञ्चोकमै व्यवस्थापन शुरु गरिएको जनाइएको छ ।
जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गएपछि जिल्लामै शव व्यवस्थापन गर्न गत महिना वैकल्पिक तयारीको निर्णयसमेत गरेको थियो ।
‘काठमाडौको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पालो कुर्नुपर्ने अवस्था आएपछि जिल्लामै वैकल्पिक व्यवस्थापन थालिएको हो,’ केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने ।
पोखरेलका अनुसार हाल जिल्लाका कोरोना सङ्क्रमितको शव जिल्लाका स्थानीय घाटमा जलाउन थालिएको हो भने अन्य जिल्लाका कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्न काठमाडौ लैजाने गरिएको छ ।
जिल्लास्थित अस्पतालमा उपचाररत कोरोनाको बिरामीको मृत्यु भएकाको काभ्रेपलाञ्चोकमै ब्यवस्थापन गर्नसमेत थप तयारी गरिनेछ । वैकल्पिक शव व्यवस्थापन तयारीले पछिल्लो समयका विभिन्न रिपोर्टमा जनाइएअनुसार ‘तेस्रो भेरियन्ट’को सम्भावना र त्यसको सम्भावित क्षतिको अवस्थामा निकै सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
हाल पाँचखाल नगरपालिकाले भुम्लु गाउँपालिकाको सिमानामा पर्ने दोलालघाट बगर, रोशी गाउँपालिकाले स्थानीय भ्याकुरे खोला, चतुरेफेदी घाट र चरुङ्गेफेदी घाट, पनौती नगरपालिकाको भालेश्वर मन्दिर घाटमा कोरोना सङ्क्रमितको शव ब्यवस्थान थालिएको पोखरेलले जानकारी दिए ।
‘मृतकका आफन्तले शव ब्यवस्थापनमा सहभागी हुन चाहेमा स्वास्थ्यका मापदण्ड अनुसार दिन सकिने योजनामा पनि छौँ,’ उनले भने । सदरमुकाम धुलिखेल र आसपासको बनेपा र पनौती नगरले कोरोना सङ्क्रमितको शव ब्यवस्थापनमा साझा स्थानको खोजी भइरहेको जनाएका छन् ।
काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव ब्यवस्थापन गर्न धुलिखेलस्थित कालीजङ्ग गणका नेपाली सेनाद्वारा काठमाडौको पशुपतिस्थित शवदाह गृह लैजाने गरिएको थियो । पनौती नगरले भने स्थानीय ६ घाटमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्न सकिने जनाएको छ ।
नगरप्रमुख भिमप्रसाद न्यौपानेले होम आइसोलेशनमा मृत्यु भएकाको शव ब्यवस्थापन गर्न चार थान पिपिई–सेट तथा शव–बाकस ब्यवस्थापन गर्न सकिने बताए । केन्द्रद्वारा स्थानीय तहलाई कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन स्थल पहिचान गरी पठाउन आग्रह गरेअनुसार जेठ पहिलोसाता स्थानीय तहबाट पहिचान भई आएको छ स्थानमा शव व्यवस्थापन गर्न सकिने जनाइएको छ ।
कोशीपूर्वस्थित चौंरीदेउराली गाउँपालिकाले गतसाता कोरोनाको दोस्रो लहर सुरु भएयता पहिलोपटक स्थानीय एकको मृत्यु भएपछि स्थानीयस्तरमै शव व्यवस्थापन गरेको थियो । सदरमुकामभन्दा टाढा रहेका पाँचखाल, मण्डनदेउपुर, चौंरीदेउराली, भुम्लु, खानीखोला र रोशीले मात्रै शव ब्यवस्थापन गर्न सकिने स्थान पहिचान गरी पठाएको केन्द्रले जनाएको छ ।
‘सदरमुकामभन्दा टाढाका स्थानीय तहले मात्रै स्थान पहिचान गरी पठाएकाले टाढा लैजान थप जनशक्ति र खर्च लाग्ने भएकाले नजिकको स्थान पहिचानमासमेत लागेका छौँ,’ पोखरेलले भने । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् ।
यसैबीच, काभे्रपलाञ्चोकमा पछिल्लो हप्तादेखि सङ्क्रमणदर घटेको र सङक्रमणमुक्त हुनेको सङ्ख्या बढेको केन्द्रको तथ्याङ्कले देखाएको छ । पछिल्लो २४ घण्टामा ३८ मा कोरोना सङ्क्रमण पुष्टि भयो भने १ सय २७ सङ्क्रमणमुक्त भएका छन् । अघिल्लो दिन ४० मा कोरोना सङ्क्रमण देखियो भने २ सय ६३ सङ्क्रमणमुक्त भएका थिए ।
पछिल्लो केही दिनदेखि जिल्लामा मृत्युदर सङ्ख्या शून्यमा ओर्लिरहेको केन्द्रको तथ्याङ्कले देखाएको छ । हालसम्म काभ्रेपलाञ्चोकको १ सय ५९ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
हाल जिल्लामा एक हजार ५६ सक्रिय सङ्क्रमितमध्ये बनेपा नगरमा २ सय ३४, पाँचखालमा ७६, धुलिखेलमा १ सय ८७, पनौतीमा १ सय ३०, नमोबुद्धमा ७३, मण्डनदेउपुरमा ३८ तथा चौंरीदेउरालीमा ५०, रोशीमा ६५, तेमालमा १४, भुम्लु ५७, खानीखोलामा ११, बेथानचोकमा १७ र महाभारत गाउँपालिकामा १ सय ४ रहेको केन्द्रको तथ्यांक छ । (रासस)