निरज यादव/प्रदेशपालिका
४ असार, सर्लाही ।
जिल्लामा टिपरको ठक्करबाट एक रेडियोकर्मीको घटनास्थलमै ज्यान गएको छ ।
मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका १३ बस्ने ३० वर्षीय अर्जुन महतो रहेको प्रहरीले जनाएको छ । रेडियो जुनतारा गौशालाका प्राविधिक एवम् कार्यक्रम प्रस्तोता महतो चढेको मोटरसाइकललाई हरिपुर्वा नपा ८ मा टिप्परले ठक्कर दिएको थियो ।
शुक्रबार दिउँसो ४ बजे तिर ज७प ९०४२ नम्बरको मोटर साइकलमा गइरहेको महतोलाई विपरीत दिशाबाट तिब्र गतिमा आईरहेको टिपरले ठक्कर दिएको थियो । टिपरले ठक्कर दिएपछि मोटरसाइकल सहित लडेका महतोको टाउकोमाथिबाट नै टिपरको चक्का चलेकोले तत्कालै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटना पश्चात् आक्रोशित स्थानीयहरुले टिपरमा आगजनी गरेका छन् । स्थानीयहरुले बजार क्षेत्रमा पनि तिब्र गतिमा टिपर चलाएकोले घटना भएको भन्दै टिपरमा आगजनीको साथै सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् ।
प्रहरी घटना स्थलमा पुगेर प्रदर्शन नियन्त्रण गर्ने प्रयास गरिरहेको छ भने टिपर चालकलाई पक्राउ गरेको छ ।