४ असार, काठमाडौं ।
वर्षा मात्र होइन, अन्य विभिन्न अवस्थामा पनि मोबाइल फोन भिज्ने खतरा हुन्छ । वर्षाको बेला यो चिन्ता झन् बढ्छ । यहाँ हामी तपाईंले आफ्नो स्मार्टफोनलाई पानीमा भिज्नबाट बचाउनका लागि के गर्न सक्नुहुन्छ भनी केही उपाय राख्दैछौँ । पक्कै पनि यी उपाय तपाईंका लागि सहयोगी हुनेछन् ।
वाटरप्रुफ थैलीको प्रयोग :
आजकल बजारमा स्मार्टफोन राख्न मिल्ने प्लास्टिकका स–साना थैलीहरु सजिलै पाइन्छन् । पानी नछिर्ने त्यस्ता वाटरप्रुफ थैलीले फोनको खोलको काम पनि गर्दछन् । हुन त आजकल अधिकांश फोनहरु आफैमा वाटरप्रुफ नै हुन्छन् जो झरीमा रुझ्दा वा केही बेरको लागि पानीमा खस्दा पनि पानी छिरेर बिग्रिँदैन । तर वाटरप्रुफ थैली प्रयोग गर्नुभयो भने जस्तोसुकै स्मार्टफोनलाई पनि पानीबाट सुरक्षित राख्न सकिन्छ । जिपलकसहितको त्यस्तो थैलीभित्र सिलिका जेलको टुक्रा हाल्नुभयो भने त्यसले आद्रता सोसेर फोनलाई झनै सुरक्षित राख्नेछ ।
ब्लुटुथ इयरफोन वा इयरबड्सको प्रयोग गर्ने :
हाल बजारमा निकै सुपथ मूल्यमा ब्लुटुथ इयरफोन तथा इयरबड्स पाइन्छन् जो पानी तथा धूलो प्रतिरोधीसमेत हुन्छन् । वर्षाको समयमा तपाईंले आफ्नो स्मार्टफोन गोजी वा ब्यागमा राखेर सो ब्लुटुथ डिभाइसको मद्दतले फोनमा कसैसँग कुराकानी गर्न वा म्युजिकलगायत सुन्न पनि सक्नुहुन्छ । यसबाट तपाईंलाई कुरा गर्न वा अन्य कारणका लागि फोन बाहिर निकालिरहनु पर्दैन, जसले पानीमा भिज्ने सम्भावना स्वतः कम हुन्छ ।
फोन पानीमा भिजिहालेमा के गर्ने ?
आफ्नो मोबाइल फोन सुरक्षित नराखेकै बेला अचानक वर्षा भयो वा अन्य कारणले मोबाइल भिज्यो भने के गर्ने त ? त्यस्तो बेलामा वरपर कतै सुख्खा पोलिथिन वा कागज भेटियो भने तुरुन्तै त्यसमा आफ्नो मोबाइल फोनलाई बेरेर राख्नुपर्छ । यसले फोनलाई थोरै भए पनि जोगाउँछ ।
स्मार्टफोनलाई तत्कालै स्विचअफ गर्ने :
यदि तपाईं कतै झरीमा फस्नुभयो र ओत पनि छैन भने यस्तो बेलामा तपाईंको फोन ठूलो जोखिममा पर्दछ । यदि त्यस्तो भयो भने स्मार्टफोन स्विचअफ गरेर भित्री गोजीमा हाल्नु उपयुक्त हुन्छ । फोनलाई पोलिथिन वा कागज आदिमा बेरेर राख्न सकियो भने झनै सुरक्षित हुन्छ । स्वीच अफ गरेको अवस्थामा फोन भिजिहालेमा पनि नबिग्रिने सम्भावना बढी हुन्छ ।
भिजेको फोन चार्जमा नराख्नुहोस् :
आफ्नो स्मार्टफोन पानीमा भिजेको छ भने त्यसलाई सुख्खा नबनाइकन चार्जमा नहाल्नुहोस् । पानीले मात्र होइन थोरै आद्रताले पनि फोनलाई शर्ट सर्किट बनाएर बिगार्न सक्दछ । त्यसैले चार्ज गर्नु अगाडि फोन पूर्णरुपमा सुख्खा छ छैन हेर्नुहोस् । जीउमा बढी पसिना आउने मान्छेले लामो समयसम्म आफ्नो गोजीभित्र राखेको फोन पनि निकालेर तत्कालै चार्ज गर्नु हुँदैन ।