३ असार, महोत्तरी ।
जिल्लामा बन्दुक देखाएर लुटेराहरूको एक समूहले लाखौं लुटपाट गरेका छन् । सम्सी गाउँपालिका वडा नम्बर १ स्थित पर्सा बजारमा गए राति १० जनाको एक समूहले राजीव ज्वेलर्स सुनचाँदी पसलमा हातहतियार पड्काउँदै लुटपाट गरेका हुन् ।
लुटपाटका क्रममा लुटेराहरूको समूहले चलाएको गोलीबाट राजीव ज्वेलर्सका संचालक वीरेन्द्र साहसहित उनको परिवारका सदस्यहरु घाइते भएका छन् ।
बन्दुकको गोली कम्मरमा लागेपछि पसल सञ्चालक ५० वर्षीय वीरेन्द्र साह घाइते भएका हुन् । महोत्तरी प्रहरीका अनुसार उनको उपचार जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि धरानस्थित अस्पतालमा रिफर गरिएको छ ।
यस्तै लुटेराहरूले रड प्रहार गरी साहकी श्रीमती ४५ वर्षीय सुशीला देवी साह, छोरा २५ वर्षीय शम्भु साह, छोरी २० वर्षीय कंचन कुमारी साह, १७ वर्षीय छोरा राजिव साहलाई घाइते बनाएको महोत्तरीका प्रहरी उपरिक्षक दिनेश आचार्यले जनाए ।
लुटेराहरूको रड प्रहारबाट उनीहरुको टाउको, मुख र शरीरको विभिन्न भाग चोटपटक र गहिरो घाउ लागेको छ । घाइतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको जनाइएको छ ।
सम्सी गाउँपालिका वडा नम्बर १ स्थित पर्सा बजारदेखि २ सय मिटर उत्तर सम्सी गौशाला सडक खण्ड पश्चिममा रहेको साहले घरमै संचालन गरेको सुनचाँदी पसलमा मध्यरातमा लुटेराहरूले गोली प्रहारसँगै लुटपाट समेत गरेका थिए ।
लुटेराहरू घरको पछाडिबाट पर्खाल नाघी घरभित्र प्रवेश गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । लुटेराहरू कटुवा पेस्तोल, फलामको रड प्रयोग गरी संचालक वीरेन्द्र साहसहित घरमा रहेका उनका श्रीमती, छोरा र छोरी माथि आक्रमण गर्दै घर भित्र रहेको नगद र गरगहना समेत लुटेर फरार भएको महोत्तरीका प्रहरी निरिक्षक रंजन मिश्रले बताए ।
प्रारम्भिक जानकारी अनुसार लुटेराहरूले २ लाख ३२ हजार रुपैयाँ बराबरको १ सय ७२ तोला काँचो चाँदि लुटिएको छ । यसैगरी ५ तोला काँचो सुन, करिब ४ लाख ६५ हजार रुपैयाँ मूल्य बराबरको पनि लुटिएको छ ।
घरमै रहेको २ लाख रुपैयाँ नगदसमेत लुटेर लगेको महोत्तरी प्रहरीले जनाएको छ ।
संचालक साह सहित परिवारजनहरू समेत घाइते अवस्थामा रहेकाले लुटपाटको यकिन विवरण आउन समय लाग्ने प्रहरीको भनाइ छ ।
महोत्तरीमा लुटेराहरूको समुहले यो दोश्रो पटक आक्रमण सहित लुटपाट भएको हो । गत सातामात्रै महोत्तरीको लोहरपट्टी नगरपालिका स्थित बजार क्षेत्रमै एकको घरमा लुटपाट गरि घरधनीमाथि गोली हानी गम्भिर घाइते बनाइएको थियो ।