३ असार, काठमाडौं ।
सिन्धुपाल्चोक : मेलम्ची र इन्द्रावतीमा आएको बाढीले दुईको मृत्यु, २० बेपत्ता, एक हजार विस्थापित, हेलम्बु र पाँचपोखरी–थाङ्पाल क्षेत्रमा उद्धार टोली पुग्न पाएन
मनाङ : बाढीले ५५ घर डुबानमा, नासोँ गाउँपालिकाको कार्यालय, धारापानी सीमा प्रहरी चौकी, प्रभु बैंक र प्राइम कमर्सियल बैंकको भवन, थोंचे स्वास्थ्य चौकी र धारापानीका पाँचवटा होटेल बगायो
रसुवा : अविरल बर्षाका कारण पाँचवटा गाउँपालिकाका ३८ मानव बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको जिल्ला विपत् व्यवस्थापन समितिको निष्कर्ष । उच्च सतर्कता अपनाउन आह्वान ।
लमजुङ : दोर्दीखोलाको बाढीले हिलेबजारमा रहेका ११४ घरमध्ये १५ घर बगायो ४५ घर उच्च जोखिममा रहेको दोर्दी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तुलबहादुर घलेको भनाइ । विस्थापितलाई स्थानीय फलेनी माविको भवनमा आश्रय दिइएको छ ।
सप्तरी : खेतमा काम गरिरहेका बुवा किसुनदेव भण्डारीलाई खाजा पु¥याउन गएका बेल्हीका १३ वर्षीय बालक सन्तोष भण्डारीको भुतही बलान खोलाले बगाएर मृत्यु, सीमापारि भारतमा भेटियो शव ।
डोटी : खानेपानी अवरुद्ध भएपछि बनाउन मुहानमा गएका बासुदेवी देउकाँडाका खड्कबहादुर बमको पहिरोले पुरिएर मृत्यु । उनीसँगै रहेका १३ वर्षीया पुनी कुँवर र १६ वर्षीया पूजा कुँवर घाइते भएका छन्
मनसुन सुरु हुनासाथ आएको बाढीपहिरोमा परी देशभर सातजनाको ज्यान गएको छ भने २७ जना बेपत्ता छन् । दर्जनौँ घर बाढीले बगाउँदा हजारौँ बासिन्दा विस्थापित भएका छन् ।
बाढीले सिन्धुपाल्चोकमा दुई र बाजुरा, पाल्पा, सप्तरी, कास्की, डोटीमा एक–एकजनाको मृत्यु भएको छ । मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोेकमा २० जना बेपत्ता छन् । मेलम्ची र हेलम्बु क्षेत्रका करिब एक हजार बासिन्दा बाढीले विस्थापित भएका छन् ।
यता उद्धारको तयारी पनि सँगसँगै अघि बढेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकारी एवं सुरक्षाकर्मी विपत्को जोखिमबाट जनतालाई बचाइरहेका छन् । विपत् क्षेत्रमा पठाउन नेपाल प्रहरीसँग करिब आठ हजार, सशस्त्र प्रहरीसँग एक हजार पाँच सय र नेपाली सेनासँग एक हजार दुई सयजना विशेषज्ञ छन् ।
मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन भारी वर्षा हुने जनाएकाले नदी आसपासका क्षेत्रमा पानीको बहाव बढ्ने, पहिरो र डुबानसमेत हुने खतरा कायमै छ । भौगर्भिक दृष्टिले कतिपय स्थानहरू पहिरोको उच्च जोखिममा रहेकाले त्यस्ता स्थानमा बढी सतर्कता अपनाउनुपर्ने र सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्नुपर्ने अवस्था छ । यिनै प्राकृतिक जोखिमसँग लड्न आवश्यक उपकरणसहित हाई अलर्टमा छन्, सुरक्षाकर्मी । विशेषज्ञसहित सुरक्षाकर्मीको टोली जोखिमपूर्ण क्षेत्रमा पुगेर रातदिन काम गरेका छन् ।
सम्भावित विपत्बाट पीडितलाई उद्धार गर्न तीनवटै सुरक्षा अंगलाई हाइअलर्ट रहन निर्देशन गरेको छ । निर्देशनअनुसार ७७ वटै जिल्लामा तीनवटै सुरक्षा अंगका सुरक्षाकर्मी तयारी अवस्थामा रहेका छन् । सरकारले स्थानीय तह, सम्बन्धित जिल्ला अधिकारी, सामाजिक संघसंस्थालाई तयारी अवस्थामा रहन निर्देशन गरेको छ । गृह मन्त्रालयको समन्वयमा सुरक्षाकर्मी परिचालन भएका छन् । सामाजिक संस्था परिचालन तथा उद्धारका बाँकी काम भने गृहअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा भइरहेको छ ।
गृहका सूचना अधिकारी खुमाकान्त आचार्यले विपत् न्यूनीकरण र उद्धारमा खटिन मातहतका सबै सुरक्षा अंगलाई अलर्टमा रहन निर्देशन भएको बताए । उनले भने, ‘बाढी–पहिरोबाट हुने सम्भावित क्षति रोक्न सरकार सक्रिय छ । उद्धारका लागि हाइअलर्टमा रहन मातहतका सबै सुरक्षा निकायलाई निर्देशन गइसकेको छ । सम्बन्धित सिडिओ कार्यालयलाई पनि अलर्टमा रहन र सामाजिक संघसंस्था, स्थानीय तहलाई परिचालन गर्न भनिएको छ ।’
नेपाल प्रहरीले ७७ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयलाई अलर्ट रहन भनेको छ । पीडितको उद्धारमा लाग्न, राहत सामग्री वितरणमा सघाउन निर्देशन छ । तराई क्षेत्रमा हुन सक्ने प्रकोप न्यूनीकरण गर्न र उद्धारका लागि मोटरबोट, रबरबोटलगायत सामग्री जिल्लामा पठाइसकिएको छ । नेपाल प्रहरीले यसका लागि विशेषगरी मातहतको प्रदेश प्रहरी कार्यालयमा जिम्मेवार बन्न निर्देशन गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले आवश्यक उपकरणसहित नेपाल प्रहरीको टोली विपत् क्षेत्रमा खटिएको बताए । ‘स्थानीय तहको सानो इकाइसम्म पुगेको नेपाल सरकारको सुरक्षा संरचना नेपाल प्रहरी हो । त्यसो हुँदा सानोभन्दा सानो विपत्को घटनामा पनि प्रहरी खटिनुपर्ने अवस्था छ । यसका लागि हामीसँग करिब आठ हजारको संख्यामा विपत्मा खटिने डेडिकेटेड टिम छ । प्रत्येक टोलीलाई आवश्यकताअनुसार प्रदेश, जिल्ला र तल्लो युनिटसम्म खटाएका छौँ । सबैलाई अलर्ट रहन हामीले भनेका छौँ,’ प्रवक्ता कुँवरले भने, ‘यसरी खटिएका टोलीमा कम्तीमा प्रदेश तहमा एक सय २५ र जिल्ला तहमा ३० जनाको टोली हुन्छ । सबै डेडिकेटेड टिम हो । उद्धारका लागि विभिन्न उपकरण पनि आवश्यक पर्छ । त्यो पनि उपलब्ध गराएका छौँ ।’
उनले सहकार्य गरेर आफूहरूले विपत् क्षेत्रमा काम गरेको बताए । ‘उद्धारमा नेपाल प्रहरीको मात्रै जनशक्तिले भ्याउँदैन । त्यसो हुँदा थप सहयोगका लागि नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तह र विभिन्न संघसंस्थासँग पनि सहकार्य गर्नुपर्ने हुन्छ । यसका लागि हामीले सबै तयारी गरेका छौँ,’ प्रवक्ता कुँवरले भने ।
गृहका अनुसार सशस्त्र प्रहरीले पनि मातहतका ७७ वटै जिल्लाका गुल्मलाई हाइअलर्टमा रहन निर्देशन दिएको छ । उद्धारका लागि तयार विशेषज्ञ टोलीलाई पनि अलर्टमा रहन भनेको छ । सशस्त्रमा पनि त्यस्ता विशेषज्ञ टोली एक हजार पाँच सयको संख्यामा छन् । बाढीबाट उद्धार गर्न मोटर तथा रबरबोट तराईका जिल्लामा पठाइसकेको छ ।
नेपाली सेनाका अनुसार सम्भावित क्षति रोक्न र प्रकोपमा परेकालाई उद्धार गर्न सबै पृतनामा हेलिकोप्टर स्ट्यान्डबाई राखिएका छन् । मतहतका पृतना, गुल्म, गणमा तालिम प्राप्त सुरक्षाकर्मी पठाइसकिएको छ । उद्धारका लागि मात्रै कुल जनशक्तिको एकतिहाइ सुरक्षाकर्मीलाई अलर्ट रहन भनिएको छ । ती सबै जनशक्ति जुनसुकै वेला जहाँ पनि खटिने सक्ने गरी तयारी अवस्थामा राखिएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए ।
‘हामीले बाढी–पहिरोको प्रकोप हुन सक्ने ठाउँ पहिचान गरेका छौँ । त्यस्ता क्षेत्रको म्यापिङ नै छ । सोहीअनुसार जनशक्ति परिचालन गरेका छौँ । सम्भावित प्रकोपबाट उद्धार गर्ने उद्देश्यले ७७ वटै जिल्लामा सुरक्षाकर्मी पठाइसकेका छौँ । हेलिकोप्टर स्ट्यान्डबाई छन् । हाम्रो एकतिहाइ जनशक्ति यस कार्यमा खटिने गरी तयारी गरेका छौँ,’ सैनिक प्रवक्ता पौडेलले भने ।
सेनाका अनुसार तराई क्षेत्रमा बाढीको प्रकोप धेरै हुने भएकाले मोटरबोट, रबरबोटलगायका उद्धार उपकरण तयारी अवस्थामा राखिएका छन् । त्यसबाहेक उद्धारका लागि तयार विशेषज्ञ टोेलीलाई पनि आवश्यकताअनुसार सबै क्षेत्रमा परिचालन गरिएको छ । यसका कार्यमा स्थानीय तह, अन्य सुरक्षाकर्मी, सामाजिक संघसंस्था पनि परिचालन हुने सैनिक प्रवक्ता पौडेलले जानकारी दिए ।
उनले भने, ‘मोटरबोट तयार छ । रबरबोटलगायत उपकरण पनि तयारी नै छन् । त्यसबाहेक उद्धारका लागि विशेषज्ञ टोली पनि तयार गरेका छौँ । करिब १२ सयको विशेषज्ञ जनशक्ति छ, उनीहरूलाई आवश्यकताअनुसार परिचालन गरिसकिएको छ ।’