२ असार, दाङ ।
तीन दिनदेखिको अविरल वर्षाका कारण खसेको पहिरोले लुम्बिनी प्रदेशका दर्जन बढी सडकहरु अवरुद्ध भएका छन् । प्रहरीले यस्तो समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
बुटवल–नारायणगढ खण्डको देवदह नजिकै डाइभर्सन बगाउँदा मंगलबारदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग बुधबार पनि खुल्न सकेको छैन ।
निरन्तर वर्षा जारी रहेका कारण वैकल्पिक सडक बनाउन नसकिएकाले बुधबार साँझसम्म पनि राजमार्ग खुल्ने सम्भावना नरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्लिनारायण पाण्डेयले बताए ।
यस्तै सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा कम्तीमा आधा दर्जन स्थानमा पहिरो खस्दा उक्त सडक पनि मंगलबारदेखि नै पूर्णरुपमा अवरुद्ध छ । यो खण्डको तिनाउ–५ कालिमाटी, तानसेन–८ को गौडापुल, जरेपिपल तथा तानसेन–१४ गाईघाटमा पहिरो गएको छ ।
गौडापुलमा पहिरोले ५० मिटर सडक भत्काइदिएको छ । जसले गर्दा बुटवलदेखि पाल्पा हुँदै स्याङजा पोखरा र गुल्मी बागलुङतर्फको यातायात सेवा सुरु हुन केही दिन लाग्ने डीएसपी पाण्डेले बताए ।
यस्तै तानसेन–रिडि खण्डको हार्थोक, मालमुल लगायतका स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यस्तै रिडी–तम्घास र रिडी–वामीटक्सार खण्डमा पनि ठाउँठाउँमा पहिरो खसेका कारण ती सडक पनि अवरुद्ध भएका डीएसपी पाण्डेले बताए ।
पाल्पा रामपुर पूर्वखोला १ लुम्छापमा, रम्भा–४ हुमिन, बगनासकालीको शेरालगायतका क्षेत्रमा पनि पहिरोका कारण आर्यभन्ज्याङ–रामपुर सडक अवरुद्ध छ ।
यस्तै गोरुसिङ्गे–सन्धिखर्क सडकको फुदवाङ, प्युठान–भालुवाङ सडकको सरुमारानी–४ खहरेखोलामा पहिरो जाँदा ती सडक पनि बन्द हुँदा रोल्पा, प्युठानको यातायात सेवा विच्छेद भएको डीएसपी पाण्डेले बताए । बुटवल–नेपालगन्ज राजमार्ग भने सुचारु रहेको उनले बताए । भारी वर्षा नरोकिएकाले यात्रा नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।