प्रहरी कार्यालयभित्रै प्रहरीलाई रंगभेदी व्यवहार

२ असार, काठमाडौं ।

सामाजिक सञ्जाल ट्विटरमा अहिले प्रहरीमाथि रंगभेदका शब्द प्रयोग गरेर अपमान गरेको भिडियो भाइरल भएको छ । ४५ सेकेन्ड लामो सो भिडियोमा प्रहरीमाथि रंगभेदी व्यवहार गरेको प्रष्ट देखिन्छ, सुनिन्छ । भिडियोमा आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्नेहरुले प्रहरीलाई नियम सिकाउन प्रयत्न गरेका छन् ।

भिडियोमा देखिन्छ– ‘(इन्सपेक्टरलाई देखाउँदै) उहाँजस्तो हुनुस् । त्यही भएर उहाँको पोजिसन यो छ । हामीलाई पनि कारबाही गर्नुप¥यो तर, हामी उहाँलाई यहाँ बस्नै दिँदैनौं । सरुवा एनिहाउ हामी गर्छौं, त्यति हो ।’

त्यसपछि प्रहरीलाई उहाँको नाम के हो भनेर सोधेको सुनिन्छ । प्रहरीले जवाफ दिन्छन्, ‘मेरो मणिकान्त झा ।’ त्यसपछि सुनिन्छ, ‘तपाई मधेसी, अब उता मधेसतिर जाउ खेती किसानी गर्नु। ट्राफिकको जागिर खाएर काम छैन । आफ्नै घरतिर सजिलो पनि हुन्छ ।’ भिडियोमा देखिन्छ, काँधमा इन्सपेक्टरको फुली लगाएका प्रहरीले हात जोड्दै बिदा माग्छन् ।

कानुन पालना गराउन बसेका अर्थात् कानुन उल्लघंन गर्नेलाई कारबाहीको दायरामा ल्याउन खटिएका प्रहरीमाथि, त्यो पनि प्रहरी कार्यालयभित्रै बर्दीमा रहेका प्रहरीमाथि रंगभेदी व्यवहार भएको भिडियो सार्वजनिक भएपछि यसको सर्वत्र विरोध भएको छ ।

प्रहरीले जेसुकै गल्ती गरेको भए पनि उसलाई कारबाही गर्ने ठाउँ हुँदाहुँदै रंगभेदी व्यवहार गर्नु गम्भीर अपराध भएको भन्दै यस्तो व्यवहार गर्नेलाई कारबाही गर्न माग गरिएको छ । नेपाल प्रहरीको आधिकारीक ट्विटर ह्याण्डललाई मेन्सन गर्दै छानबिन गरेर कारबाही माग गरिएको छ ।

महाराजगञ्ज चोक हुँदै ट्राफिक कार्यालयसम्म
काठमाडौंको महाराजगञ्ज चोकबाट यो घटनाको सुरुवात भएको रहेछ । चोकबाट सुरु भएको विवाद महाराजगञ्जको ट्राफिक प्रहरी कार्यालयसम्म पुग्दा भिडियोसहित बाहिरिएको पाइएको छ । भिडियोमा देखिएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रवीन्द्रकुमार श्रेष्ठ हुन् । घटना गत जेठ ११ गतेको हो ।

महाराजगञ्ज चोकमा असई मणिकान्त झा ड्युटीमा खटिएका थिए । त्यहीबेला गाडीमा ज्वाला संग्रौला, सर्मिला वाइवासहितको टोली आयो । उनीहरुले आफूलाई सामाजिक अभियन्ता भएको दाबी गरेका छन् । इन्स्पेक्टर श्रेष्ठका अनुसार निषेधाज्ञाको समय भएकाले असई झाले उनीहरुसँग पास मागेका थिए ।

तर, उनीहरुले पास देखाउन सकेनन् । त्यसपछि झाले लाइसेन्स मागे । लाइसेन्स समेत देखाउन नसकेपछि उनीहरुको गाडी साइड लगाएर रोक्न भने । त्यसपछि उनीहरुले आफूलाई रोकेको भन्दै प्रहरीसँग विवाद गरे । अनि वादविवाद बढ्यो । प्रहरीले गाडी ’होल्ड’ गर्न लगाएपछि उनीहरुले प्रहरीले दुव्र्यव्यवहार गरेको आरोप लगाएको इन्स्पेक्टर श्रेष्ठ बताउँछन् ।

संग्रौलाको टोलीले असई झाले साइबर मुद्दा लगाउँछु भनेको र ‘…साला’ भनेर अपशब्द बालेको आरोप लगाएका छन् । तर, झाले आफूले त्यस्तो शब्द बोल्दै नबोलेको र संग्रौलाको टोलीले त्यसबेलाको भिडियो समेत खिचेकाले भिडियोमा देखाउन चुनौती दिएका छन् ।

‘गाडी रोकेपछि उहाँहरुले भिडियो खिच्नु भयो । जथाभावी भिडियो खिच्ने, त्यसको दुरुपयोग भयो भने साइबर मुद्दा लगाउँछु भनेको हो । ‘…साला’ भनेको छैन’, सार्वजनिक भएको २५ मिनेटको भिडियोमा संग्रौलाकै अघि असई झाले भनेका छन् ।

फेरि संग्रौलाको टोलीले त्यसरी मुख छाड्ने व्यक्ति अर्कै हुन् भनेको सुनिन्छ ।

‘ज्वाला संग्रौला भन्ने को हो? नाम सुनेको छ? मिडिया हेर्ने गरेको छ? प्रहरीको फुली लगाएँ भनेर ठूला कुरा गर्ने होइन नि फेरि ! तपाईंको आईजीपीले सम्मान गरेर हिँडेको मान्छे हो ज्वाला संग्रौला । तपाईंले यो तरिकाले डिल गर्ने? म ठेगान लगाइदिन्छु, म के हो भन्ने देखाइदिन्छु’, प्रहरी कार्यालयमै गएर बर्दीका प्रहरीलाई ज्वाला संग्रौला र उनको टोलीले यसरी धम्की दिएको देखिन्छ ।

आफू मातहतको प्रहरीबाट गल्ती भएको भए सच्याउन तयार भएको र त्यसको जिम्मेवारी आफूले लिने भन्दै इन्सपेक्टर श्रेष्ठले भने सम्झाउने प्रयास गरेका छन् । तर, यतिले पनि उनीहरुको रिस कम हुँदैन । ‘जागिर खाएर के राम्रो काम ग¥यौ? पाँच वटा काम भन्नुस् । उहाँलाई एनिहाउ सरुवा गर्नुपर्छ । यस्तो मान्छे हामीलाई चाहिँदैन । यो एरियामा तपाईं चाहिँदैन’, असईलाई सरुवा गराउने भन्दै उनीहरुले यस्तो भनेको भिडियोमा सुनिन्छ ।

’अनलाइन न्यूज’ युट्युब च्यानल प्रहरीसँगको विवादको भिडियो खिच्न प्रहरी कार्यालयमै पुगेपछि मिडियाको धम्की दिँदै संग्रौलाले असई झालाई भन्छिन्, ‘म पनि मिडिया ल्याउँछु भनेको होइन । हाम्रो आयो त । खै तपाईंको मिडिया ल्याउनुस्, छ हिम्मत ल्याउनुस् ।’ उनको यो भनाईबाट प्रहरीसँग विवाद गरेपछि युट्युब च्यानलका प्रतिनिधिलाई क्यामरासहित प्रहरी कार्यालयमा बोलाएको र क्यामराको अगाडि प्रहरीको हुर्मत लिन खोजेको प्रष्ट हुन्छ ।

‘हामीलाई पनि कारबाही गर्नुप¥यो, तर हामी उहाँलाई यहाँ बस्नै दिँदैनौं । सरुवा एनिहाउ हुनु प¥यो । सरुवा एनिहाउ हामी गर्छौं । कुरा त्यति हो । ल जा’, संग्रौलाले भनेको सुनिन्छ ।

अनि नाम सोधेर रंगभेदी व्यवहार र अपमान
यतिसम्म कुराकानी उनीहरुको विवादको विषयमा थियो । त्यसपछि प्रहरी कार्यालयबाट छुट्टिने बेलामा उनीहरुले आफूसँग विवाद भएका असईको नाम सोध्छन् । त्यसपछि उनले भन्छन्, ’मेरो नाम मणिकान्त झा ।’

त्यसपछि भने आफूलाई सामाजिक अभियन्ता दाबी गर्नेले नै समाज विक्षिप्त हुने खालका हर्कतसहितको अभिव्यक्ति दिन्छन्, ‘झा, …तपाईं मधेसी । … तिर जाउ अब, उता मधेसतिर । खेती किसानी गर्नु । ट्राफिकको जागिर खाएर काम छैन । आफ्नै घरतिर सजिलो पनि हुन्छ । उतै जाउ अब ।’

प्रहरी कार्यालयभित्रै प्रहरीमाथि यस्तो व्यवहार गर्नेलाई केही कारबाही भयो कि भएन? प्रहरीले यो घटनाको अनुसन्धान ग¥यो? हामीले यो प्रश्न नेपाल प्रहरीका प्रवक्ता, एसएसपी वसन्त कुँवरलाई सोध्यौं । ‘प्रहरीको गल्ती भए कारबाही गर्ने प्रक्रिया छ । हामीकहाँ रिपोर्ट आएपछि प्रहरीले गल्ती गरेको रहेछ भने कारबाही भइहाल्छ । तर, समाज नै विभाजित हुनेगरी यसरी अभिव्यक्ति दिन मिल्दैन । यो विषय हाम्रो नोटिसमा छ’, एसएसपी कुँवरले भने ।

प्रहरी प्रवक्ताको यो भनाइले उनीहरुमाथि अहिलेसम्म कुनै कारबाही प्रक्रिया अघि नबढाइएको देखाउँछ । हामीले यस विषयमा ज्वालासँग पनि सम्पर्क ग¥यौं । सुरुमा यसबारे बोल्न नचाहेकी उनले भनिन्, ’यस विषयमा मलाई केही थाहा छैन, म केही बोलेकी पनि छैन । जसले भिडियो ल्यायो उसैलाई सोध्नुस् । म राहत बाँड्ने काममा व्यस्त छु ।’ उनले थपिन्, ’हाम्रा कुरामा चित्त नबुझे मुद्दा हाल्न सकिन्छ, मुद्दा हाल्दा हुन्छ नि ।’

रंगभेदी अभिव्यक्ति दिनेले सार्वजनिक माफी माग्नुपर्छ : मानवअधिकारकर्मी मोहना अन्सारी
यस्ता विभेद अझै व्याप्त छन् । नेपाल प्रहरीले आफ्नो पेसा अनुसारको ड्युटी गरिरहेको छ । धेरै वटा केशमा कहिलेकाहीँ प्रहरीबाट पनि केही नराम्रो व्यवहार भएको भन्ने कुरा सुनिन्छ । तर, त्यसो भन्दैमा सामाजिक अभियन्ता भन्नेहरुले ड्युटीमा खटिएको प्रहरीलाई दुव्यर्वहार गर्न पाइँदैन ।

नेपाल सरकारले पनि त्यो नियम बनाएको थियो नि ! कसैलाई केही काम गर्नुपर्ने छ भने पास लिएर जाउ भनेको छ । हामी पनि आवश्यक पर्दा पास लिएर हिँड्छौं । म सँधैं अदालत गइरहेको छु । कानुन व्यवसायी, मानवअधिकारकर्मी भनेर नेपाल बारले सहजीकरण गरिदिएको छ ।

ड्युटीमा खटिएका प्रहरीलाई जानीजानी त्यसरी दुव्र्यव्यवहार गर्न पाइँदैन । सामाजिक अभियन्ता भन्दैमा उहाँहरुलाई एक्स्क्युज हुनुहुँदैन । कसैले कुनै ड्युटी अफिसरलाई ’तँ मधेसी होस् तँ झा होस्, मधेसतिरै गएर खेती गर्’ भन्नु नै सबैभन्दा ठूलो गल्ती हो । त्यस्ता मान्छेहरु सामाजिक अभियन्ता हो भने सार्वजनिक माफी माग्नुप¥यो । होइन भने हामीकहाँ जातीय विभेद र रंगभेदसम्बन्धी कानुन छ, त्यो कानुन समातेर प्रहरीले कारबाही गर्न सक्छ । तर, प्रहरीले नै त्यो कारबाही गर्दैन । किनभने उहाँहरु एक कल फोनका भरमा छुटिहाल्नु हुन्छ । (नेपाल लाइभबाट साभार)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here