सिन्धुपाल्चोकमा पहिरोले कम्तिमा ४ जना बेपत्ता, पुल र सडक बगेपछि यातायात अवरुद्ध

२ असार, सिन्धुपाल्चोक ।

जिल्लाको हेलम्बुमा मंगलबार साँझ आएको बाढी र पहिरोले कम्तीमा चार जना बेपत्ता भएका छन् ।

हेलम्बु बजार क्षेत्रका ३ पुरुष र १ महिला गरी चार जना बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

यद्यपि स्थानीयले भने मंगलबार साँझ मेलम्ची (इन्द्रावती)मा आएको बाढीले प्रहरीले बताएको संख्याभन्दा धेरै हताहती भएको बताएका छन् ।

प्रहरीका अनुसार बाढी र पहिरो प्रभावित क्षेत्रमा यातायात सम्पर्क विच्छेद भएको छ । मेलम्ची–नवलपुर–चौतारा जोड्ने पुल समेत बगेको छ । ठाउँ–ठाउँमा झोलुङ्गे पुल पनि बगेका छन् । ‘बिभिन्न ठाउँका पुल र सडक बगेपछि अहिले यातायात सम्पर्क विच्छेद छ,’ डिएसपी सापकोटाले भने । खानेपानी र विद्युत सेवा पनि अवरुद्ध भएको छ ।

सिन्धुपाल्चोकका पत्रकार दिनेश थापाका अनुसार तिम्बु, चनौटे र मेलम्ची बजारमा व्यापक क्षति पुगेको छ । दुईवटा पक्की पुल र ट्राउट माछा फार्म पनि बाढीले बगाएको छ ।

प्रहरीका अनुसार बिहानसम्म पनि लेदो र ठूला ढुंगासहितको पहिरो झर्ने क्रम जारी रहेकाले उद्धारमा कठिनाइ भइरहेको छ । उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको डिएसपी सापकोटाले जानकारी दिए ।

मेलम्ची खानेपानीको मुहान अम्बाथानतिरबाट बाढी उर्लिएर आएको र नदी किनारका बस्तीमा क्षति पुर्याएको स्थानीयले बताएका छन् । मेलम्ची आयोजनामा कार्यरत चिनियाँहरुको क्याम्प र आयोजनाको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको क्याम्पमा पनि क्षति पुगेको स्थानीयको भनाइ छ ।

हेलम्बुको तिम्बु बजारका कतिपय घरहरु र किउलमा रहेको ट्राउट माछा फार्म बाढीले बगाएको छ । राति ठूलो बाढी र पहिरो झर्न थालेपछि किउल, ग्याल्थुम, तिपेनी, तालामाराङ, मेलम्चीलगायतका स्थानका बासिन्दा घर छाडेर सुरक्षित स्थानमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here