अनिश्चितकालसम्म सतर्कता अपनाउन विभागको आग्रह

२ असार, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकको जलबिरेस्थित बलेफी खोला जलमापन केन्द्रमा अक्स्मात जलसतह बढेर खतराको तह पार गरेकाले तटीय क्षेत्रहरूमा अर्को सूचना जारी नभएसम्मका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार रसुवाको स्याफ्रुबेसीस्थित भोटेकोशीको बाढीले पनि सतर्कताको तह पार गरेकाले बुधबार बिहानैसम्म सतर्कता अपनाउनुपर्ने छ ।

यस्तै नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा पनि बाढीले खतराको तह पार गरेकोले बुधबार मध्याह्नसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको झारखण्डमा रहेको न्यूनचापीय क्षेत्र र मनसुन न्यून चापीय रेखाको कारण नेपालमा मनसुन थप सक्रिय भएको छ ।

यसको प्रभावले नेपालका धेरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा भारी वर्षा र थोरै स्थान अति भारी वर्षा हुने सम्भावनासमेत रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरी आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here