निरज यादव/प्रदेशपालिका
२ असार, सर्लाही ।
कोरोना महामारीको दोश्रो लहर र लामो निषेधज्ञाले खाद्यान्नको चरम अभावमा रहेका ७० परिवारलाई राहत वितरण गरिएको छ । जिल्लाको विष्णु गाउँपालिका वडा नं. ७ दुलबामा अति विपन्न परिवारहरुलाई दौतरी फ्रेन्डस् फर फ्युचरको सहयोगमा खाद्यान्न राहत राहत प्याकेज प्रदान गरिएको हो ।
भारतसँग सिमाना जोडिएको दुलबाको अति विपन्न परिवारहरुले लम्बिँदै गरेको निषेधज्ञाले गर्दा साहु महाजनले ऋण तथा उधारो सापटी दिन बन्द गरेको र ज्यालामजदुरीको काम पनि नपाएको कारणले खाद्यान्न अभाव र भोको हुन थालेको बताएका छन् । भोर, अनुसान्धानमुलक परोपकारी संस्थाको पहल र व्यवस्थापनमा सो राहत प्याकेज प्रदान गरिएको हो ।
कसैले पनि भोकले गर्दा मृत्युवरण गर्न नपरोस्, खाद्यान्न अभावमा कोही पनि भोकमरी वा कुपोषणको शिकार हुन नपरोस् भनेर गाउँपालिकाका ७० दलित तथा अति विपन्न परिवारलाई राहत दिइएको भोर संस्थाका अध्यक्ष पचुलाल माझीले जानकारी दिए ।
राहत प्याकेजमा प्रति परिवार २५ किलो स्टिमड चामल, ५ किलो हरीयो तरकारी, १ किलो सोयाबिन, १ लिटर खाने तेल, ४ वटा साबुन, ५० पिस सर्जिकल मास्क, दाल र आयोडिनयुक्त नुन रहेको भोरका कोषाध्यक्ष उमेश कुमार साहले जानकारी दिए ।
तराई मधेशको सिमान्तकृत समुदायमा पहिला पनि दौतरी फ्रेन्डस् फर फ्युचरले राहत तथा अन्य सहयोग र मानवीय कार्य गर्दै आएको छ ।