सडकभन्दा अग्ला नाला निर्माण हुँदा बस्ती डुब्ने जोखिम

निरज यादव/प्रदेशपालिका
२ असार, सर्लाही ।

जिल्लाको बलरा नगरपालिका–७ मा सडक भन्दा अग्लो नाला निर्माण गर्दा घरहरु डुबानमा पर्ने जोखिम बढेको स्थानीयले गुनासो गरेका छन् ।

आफूहरुले विरोध गर्दा–गर्दै डुबानको ख्याल नगरी मनपरी किसिमले नाला निर्माण गरिएको स्थानीय अशोक झाले बताए । झाले विरोधका बावजुद जवरजस्ती नाला निर्माणको काम गरिएको जानकारी दिए ।

अग्लो नालाले पानी निकास नहुँदा गाउँका दर्जनौँ घर डुबानमा पर्ने निश्चित रहेको झाको भनाई छ । केही स्थानीयको जिकिरका कारण जनप्रतिनिधिहरुले समेत पूरै वेवास्ता गरेर गाउँलाई नै जोखिम पार्ने गरी नाला निर्माण गराईएको झाले आरोप लगाए ।

तर बलरा नगरपालिका–७, का वडाध्यक्ष अवधेश मण्डलले भने स्थानीय वासिन्दाकै सहभागितामा नाला निर्माण भइरहेको र विपक्षीहरुबाट विरोध भए पनि गाउँलेहरुको कुनै किसिमको असन्तुष्टी नरहेको दावी गरेका छन् । उनले नालाले गर्दा बस्ती डुबानमा पर्ने जोखिम नरहेको समेत जिकिर गरे ।

सडक भन्दा एक फिट अग्लो तथा ३६ मिटर लामो नाला निर्माण गर्न नगरपालिका कार्यालयले ३ लाख रुपैयाँ बजेट उपलब्ध गराएको वडाध्यक्ष मण्डलले बताए । असन्तुष्ट स्थानीयवासीले भने करिव ३ फिटको नाला निर्माण भएको बताएका छन् ।

नाला निर्माण भएको सडक ३ वर्ष अघि नै ढलान भएको थियो । यता बलरा नगरपालिकाका प्रमुख अभय कुमार सिंहले विपक्षी नेताहरुले नाला निर्माणप्रति विरोध जनाएका तर सर्वसाधारण भने खुशी नै रहेको दाबी गरेका छन् । राजनैतिक ईगो र व्यक्ति व्यक्ति बीच निषेधको लडाइले गर्दा जतिसुकै राम्रो काम गरे पनि विरोध हुने गरेको मेयर सिंहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here