पडरियामा ४ दिनमा ८ को मृत्यु, विशाक्त मदिरा कारक भएको आशंका

निरज यादव/प्रदेशपालिका
१ असार, सर्लाही ।

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका—५,पडरियामा चार दिनमा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन भारतीय नागरिक पनि छन् ।

नेपाल—भारत सीमाबाट पौने दुई किलोमिटर उत्तरमा पर्ने पडरिया गाउँमा सञ्चालित एक घरेलु मदिरा उत्पादन गर्ने भट्टी पसलमा मदिरा सेवन गरेकाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चिकित्सकले पनि मृतक सवैले विषाक्त घरेलु मदिरा सेवन गरेका कारण मृत्यु भएको आशङ्का गरेका छन् ।

जिल्ला अस्पताल मलंगवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झाका अनुसार मदिरा सेवनबाटै मृत्यु भएको आशङ्का गरिए पनि मृत्युको कारण अझै पत्ता लागेको छैन । मृत्यु बारे बुझन मृतकहरुको भिसेरा परीक्षणका लागि फरेन्सिक ल्याब, काठमाण्डौंमा पठाउने तयारी गरिएको डा. झाले बताए ।

मृत्यु हुनेमा ब्रह्मपुरी गाउँपालिकाका वडा नं. ५ का ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी, ५० वर्षीय राम ईश्वर पासवान, ३९ वर्षीय दिनकर दास, २४ वर्षीय बलिन्द्र दास, भारत उत्तर प्रदेशका ५५ वर्षीय शिवसागर निसाद, ३५ वर्षीय दाताराम निसाद र ३२ वर्षीय सर्वेस राम निसाद रहेका छन् ।

मृतक भारतीय नागरिकहरु स्थानीय चन्दन इँटा उद्योग पडरियामा काम गर्ने मजदुर हुन् ।

ब्रह्मपुरी गाउँपालिका स्वास्थ्य शाखाका संयोजक उपेन्द्र राउतका अनुसार तीनै जना भारतीय नागरिकको २८ गते, स्थानीय राम ईश्वर पासवान र दिनकर दासको २९ गते, कैलु दासको ३० गते र जुगेश्वर माझी र बलिन्द्र दासको सोमवार बिहान मृत्यु भएको हो ।

तीन स्थानीयको गाउँमै र भारतीय नागरिकको उपचारका क्रममा जिल्ला अस्पताल मलंगवा मृत्यु भएको र दुई जना बिरामीको जिल्ला अस्पताल मलंगवा र एक जनाको श्रीराम अस्पताल मलङ्गवामा उपचार चलिरहेको स्वास्थ्य शाखाका संयोजक राउतले बताए । मदिरा पसलका संचालक देवराज कापर स्वयं पनि बिरामी परेका छन् ।

आठ जनाको मृत्यु भएपछि सोमवार बिहान स्वास्थ्य निर्देशनालय जनकपुरबाट डा. कमलेश यादव, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएजओ) बाट डा. किरण बाँस्तोला, जिल्ला अस्पताल मलङ्गवाबाट डा. अविनाश कुमार सिंहसहित जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाको स्वास्थ्य शाखाको टोलीले गाउँको निरीक्षण गरी १३ जनाको एन्टिजेन विधीबाट कोरोना परीक्षण गरेको छ ।

उनीहरु सवैको रिपोर्ट भने नेगेटिभ आएको गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक राउतले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here