१ असार, काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षाको मूल्यांकनमा धेरै अंक दिए त्यसको कारण खुलाउनुपर्ने भएको छ । कक्षा १० को मूल्यांकनका क्रममा कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दियो भने कारण खुलाउनैपर्ने नियम बोर्डले बनाएको हो ।
बोर्डको आइतबार बसेको बैठकले यसपटकको एसइई परीक्षाको मूल्यांकनको जिम्मेवारी विद्यालयलाई दिने निर्णय गरेसँगै विगतबाट पाठ सिक्दै ८० नम्बर माथि अंक दिने शिक्षकले आफूले नम्बर किन र कुन आधारमा दिएको भन्नै प्रमाणसमेत पेश गर्नुपर्ने कार्यविधिमा व्यवस्था गरेको हो ।
बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले भने, ‘गत वर्ष एसइई विद्यालयले मूल्यांकन गरी बोर्डलाई पठाएको नतिजामा धेरै दुरूपयोग भएको थियो । हामीले गुरुहरूमाथि विश्वास गरेर मूल्यांकन गर्न दियौँ । तर वहाँहरुले मर्यादा कायम गर्नुभएन । कहिले जिपिए चार नल्याउने पनि चार ल्याएका पनि उदाहरण पाइयो ।’
परीक्षाको मर्यादा कायम गर्न यसपटक विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा पाँच सदस्यीय मूल्यांकन समितिले गठन गरी मूल्यांकन हुने व्यवस्था गरिएको छ ।
जस अनुसार प्रत्येक विद्यालयमा एसइई परीक्षा मूल्यांकन समितिमा पाँच सदस्य हुनेछन्। प्रधानाध्यापक समिति संयोजक हुने व्यवस्था छ भने स्कुलको गणित, अंग्रेजी, विज्ञान, र एक वरिष्ठ शिक्षक गरी चार सदस्यहरू रहनेछन् ।