एमाले सुदूरपश्चिमका ७ प्रदेश सांसद निलम्बित

१ असार, काठमाडौं ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले ७ प्रदेशसभा सदस्यलाई निलम्बन गरेको छ । संसदीय दलको सोमबार बसेको बैठकले ह्वीप उल्लंघन गरेको भन्दै केपी शर्मा ओली पक्षका ७ जनालाई निलम्बन गरेको हो ।

माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन ह्वीप जारी गरेको थियो ।

तर ओली पक्षका सांसदहरूले विपक्षमा मत दिएका थिए । उनीहरुले संसदीय दलको ह्वीप विपरीत सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेका थिए ।

सोमबार बसेको दलको बैठकले उनीहरुलाई ७ देखि १५ दिनका लागि निलम्बन गर्ने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन् । पठानसिंह बोहरा र रतन थापालाई १५ दिन, लिलाधर भट्ट र बलदेव रेग्मीलाई १० दिन तथा नेपालु चौधरी, माया तामाङ बोहरा र ग्याल्बु बोहरालाई ७ दिन निलम्बन गरिएको हो ।

संसदीय दलको बैठकमा ओली पक्षका प्रदेशसभा सदस्यहरु पनि सहभागी थिए । संसदीय दलको विधान केन्द्रीय कमिटीबाट अनुमोदन नभएकाले निलम्बन गलत भएको ओली पक्षका प्रदेशसभा सदस्य लिलाधर भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here