नेप्सेले हटायो एओएन, के पर्छ प्रभाव ?

३१ जेठ, काठमाडौं ।

नेपाल स्टक एक्सचेन्जले ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा रहेको एओएन (अल अर नन) फिचर आइतबारदेखि हटेको छ । एओएन अर्थात कि सबै देउ÷लेउ या एउटै नदेउ÷नलेउ फिचर बन्द भएको हो ।

नेपाल स्टक एक्सचेन्जले डिजेबल गरेको एओएन (अल अर नन) धितोपत्र बोर्डको निर्देशन पछि बन्द गरिएको हो । एओएन डिसएबल हुँदा लगानीकर्तालाई के फाइदा छ त?

यदि तपाईंले एओएनमा सेयर बिक्रीका लागि एकसय ५० कित्ता राख्नु भएको छ भने कि सबै बिक्री हुन्छ कि त बिक्री नै हुँदैन । अर्को नन भन्ने विकल्प पनि छ जसमा १ सय ५० कित्ता बिक्री अडर गरिएको छ भने सय कित्ता बिक्री गरेर ५० कित्ता राख्न पनि सकिन्छ ।

तर एओएनमा कि त बिक्री हुन्छ कि त हुँदैन भन्ने हो । एओएन (अल अर नन) भनेको सेयर बिक्री गर्दा एकैपटक सबै वा शुन्य भन्ने अर्थ हुन्छ । जसमा लगानीकर्ताले आफूसँग भएको सेयर टुक्राएर खरिद बिक्री गर्न पाउँदैन । एकैसाथ सेयर खरिद बिक्री गर्न सक्छन् ।

तर यो सुविधाको गलत प्रयोग गरी ठूलो मात्रामा सेयरलाई एओएनमा राखी अन्य लगानीकर्तालाई भ्रममा पारेको गुनासो लगानीकर्ताको रहेको नेप्सेको दाबी छ । यस्ता लगानीकर्ताले ठूलो मात्रामा खरिदका लागि राख्ने र चाप देखाउने गर्दै आएको बताइन्छ ।

के फाइदा ?
पछिल्ला दिनका एओएनमा कृत्रिम कारोबार भएको गुनासो बढ्न थालेपछि नेप्सेले एओएन नै बन्द गरेको बताएको छ । एओएन डिसएबल गर्दा कसैलाई पनि हानी नोक्सानी नहुने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए । यो बिक्री अर्थात खरिद दुबैतर्फ लागु हुने भएकाले हानी नहुने नेप्सेको भनाइ छ ।

तर, यता लगानीकर्ता कमल खरेल साना तथा ठुला दुबै खालका लगानीकर्तालाई घाटा हुने बताउँछन् । यो पनि धितोपत्र बोर्ड र सिडिएसले दिएको अनुमतिकै आधारमा बनेकाले यसमा एकदिनमा १० प्रतिशतभन्दा बढ्न नि नपाउने भएकाले एओएन हुनुपर्ने उनको भनाइ छ । कित्ता टुक्र्याएर ब्रोकरलाई धनी बनाउने नियामकको चाल भएको उनको आरोप छ ।

उनी भन्छन, ‘मैले १० लाख बेच्नु छ भने अल और नन गरेर राख्न पाउँथे सबै बिक्री हुन्थ्यो । ब्रोकर कमिशन ०.२५ तिर्दा हुन्थ्यो भने अब टुक्रायाइ टुक्रायाइ बेच्दा ०.५ प्रतिशत तिर्नुपर्छ । पहिला २५ हजार कमिशन तिर्दा हुन्थ्यो भने अब ५० हजार तिर्नुपर्ने भयो ।’

एओएनमार्फत् ब्रोकर कमिसन केही कम पर्ने भएकाले त्यसको प्रयोग गर्ने गरेको लगानीकर्ताहरूको तर्क छ । तर नेप्से केही तलमाथि परे पनि कमिशन बढाउन नखोजेको बताउँछ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here