‘वि च्याट’ को लाइभमा आएर नाक कोट्याउने र ट्याटु देखाउनेमाथि कारवाही हुने

३१ जेठ, काठमाडौं ।

लोकप्रिय चिनियाँ सोसल मिडिया प्लेटफर्म विच्याटले आफ्नो लाइभ स्ट्रिमिङ सर्भिसका लागि विभिन्न नियम लागू गरेको छ । लाइभ स्ट्रिमलाई स्वस्थ बनाउने भन्दै अनौठो खालका नयाँ नियमहरु लागू गरिएका छन् ।

यस्ता नियमको सूची बिहीबार सार्वजनिक गरिएको थियो । विच्याट प्रयोगकर्ताका लागि केही प्रतिबन्धित क्रियाकलापहरुको सूची तयार गरिएको छ ।

जसअनुसार अब विच्याट प्रयोगकर्ताहरुले लाइभ स्ट्रिमिङ गर्दा नाक कोट्याउने तथा नितम्बमा थप्पड हान्ने जस्ता क्रियाकलापहरु गर्न पाउने छैनन् । विच्याटको सेक्युरिटी सेन्टरले आफ्नो प्लेटफर्ममा गरेको एक पोष्टमा ७० भन्दा धेरै नियम विपरितका कार्यहरुको सूची प्रस्तुत गरेको छ ।

लाइभ स्ट्रिमिङ सेवाको दैनिक अनुगमनका क्रममा त्यस्ता क्रियाकलापहरु फेला परेको भन्दै विच्याटले प्रयोगकर्तालाई यस्ता विषयमा ध्यान दिएर कारबाही भोग्नबाट बच्नका लागि अनुरोध गरेको छ ।

नाक कोट्याउने तथा नितम्बमा थप्पड हान्ने मात्र नभई टाउकोमा अण्डरवेयर राख्ने, छाती तथा नितम्बलगायतका संवेदनशील अंगको क्षेत्रमा क्यामरा फोकस गर्ने जस्ता क्रियाकलापलाई पनि विच्याटले प्रतिबन्धित गरिएका अश्लील क्रियाकलापको सूचीमा राखेको छ ।

जानीजानी टाटु प्रदर्शन गर्ने, ओछ्यान प्रदर्शन गर्ने, महिलाले बिकिनी वा अन्डरवेयर मात्र लगाएर लाइभमा आउने, बाथ टावेल मात्र जिउमा बेरेर लाइभ गर्नेलगायतका क्रियाकलापलाई पनि विच्याटले बन्देज लगाएको छ ।

त्यसका साथै राजनीतिक रुपमा संवेदनशील विषयमा छलफल गर्ने, जुवा तथा सट्टेबाजीलाई प्रवद्र्धन गर्ने र बार, नाइट क्लब अनि खुट्टा मसाज गर्ने पार्लर जस्ता बालबालिकाहरुका लागि अनुपयुक्त ठाउँहरुबाट लाइभ गर्ने कार्यहरु पनि विच्याटको प्रतिबन्धित क्रियाकलापको सूचिमा परेका छन् ।

विच्याटका अनुसार नियम उल्लंघन गरेर लाइभ स्ट्रिमिङ उल्लेखित क्रियाकलापहरु गरेमा लाइभ स्ट्रिमिङ गर्ने च्यानल तथा स्ट्रिमिङकर्ता दुवैलाई सजाय हुनेछ ।

टेन्सेन्ट होल्डिङ्स कम्पनीको स्वामित्वमा रहेको विच्याट चीनमा निकै लोकप्रिय मेसेजिङ एपको रुपमा रहेको छ र यसका प्रयोगकर्ताको संख्या १ अर्बभन्दा धेरै छ । विच्याटमा च्यानल नामक निकै लोकप्रिय फिचर छ । उक्त फिचरमार्फत् प्रयोगकर्ताले लाइभ स्ट्रिमिङ गर्न सक्छन् ।

चीनमा इन्टरनेटमाथि सरकारको कडा नियमन रहेको छ । सरकारले राजनीतिक तथा सामाजिक रुपमा संवेदनशील सामग्रीहरु इन्टरनेटमा बन्देज लगाउनका लागि कडा कदम चाल्ने गरेको छ । (एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here