३१ जेठ, काठमाडौं ।
जनता समाजवादी पार्टि (जसपा)ले केपी ओली नेतृत्वको सरकारमा मन्त्री बन्न गएका ११ मध्ये ९ जनालाई स्पष्टिकरण सोधेको छ । उनीहरुलाई ७ दिनमा जवाफ दिनेगरी उपेन्द्र यादव पक्षले स्पष्टिकरण सोधेको हो ।
उनीहरुलाई ४ बुँदे स्पष्टीकरण सोधिएको छ । पछिल्लो पटक २७ जेठमा ओली सरकारमा शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका थिए भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय राजकिशोर यादवले सम्हालेका थिए । खानेपानी मन्त्री अनिल झा, संस्कृति, पर्यटन तथा नगरिक उड्यन मन्त्री उमाशंकर अरगरिया, खेलकुद मन्त्री एकवाल मियाँ, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री चन्दा चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमल प्रसाद श्रीवास्तव, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री चन्द्रकान्त चौधरी र महिला, बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री रेणुका गुरुङलाई स्पष्टिकरण सोधिएको हो ।
स्पष्टिकरणमा प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टि निर्णय विपरीत साथ दिनुको कारण खुलाउन भनिएको छ । सरकारमा सामेल हुनुपर्ने कारण खुलाउन भनिएको छ । साथै संसदीय दलको विधान नबनिसकेको अवस्थामा राजेन्द्र महतोलाई संसदीय दलको नेताका रुपमा स्वीकार गर्नुको कारण र आधाबारे जवाफ दिन ९ जना मन्त्रीहरुलाई भनिएको छ ।
सबै मन्त्रीहरुले पार्टिमा स्वेच्छाचारितालाई बढाएको अरोपसमेत लगाउँदै यसको कारण सोधिएको छ । पार्टि अनुशासन र आचारसंहिता विपरीत गइरहेको भन्दै ती सांसदहरुले आफूखुसी स्वेच्छाचारिता बढाउँदै लैजानुको कारणबारे स्पष्टिकरणमा उल्लेख गर्नुपर्ने बताइएको छ ।
यसअघि जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले महन्थ–राजेन्द्र पक्षका चार जनालाई स्पष्टीकरण सोधेको थियो । उनीहरुले जवाफ दिन इन्कार गरेको भन्दै अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो तथा नेताहरु लक्ष्मणलाल कर्ण र सर्बेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गर्ने निर्णय उपेन्द्र–बाबुराम पक्षले गरेको थियो ।