दिल्लीमा लकडाउन केही खुकुलो

३० जेठ, काठमाडौं ।

भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाइएको लकडाउन थप खुकुलो बन्ने भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार लकडाउन थप खुकुलो बन्ने घोषणा गरेका हुन् ।

उनले सोमबारबाट दिल्लीमा पसल, मलहरु र रेष्टुरेन्टमा लगाइएको प्रतिबन्ध खुकुलो पारिने बताएका हुन् । केजरीवालले बिहान १० बजेदेखि राति ८ बजेसम्म पसल खोल्न पाइने बताए । उनका अनुसार रेष्टुरेन्ट पनि आधा क्षमतामा सञ्चालन गर्न पाइनेछ ।

यससँगै अब दिल्लीमा मेट्रो र सरकारी बसले आधा क्षमतामा यात्रुहरु बोक्न पाउँछन् । विवाह र अन्तिम संस्कारमा केवल २० जना मात्र भेला हुन पाउनेछन् ।

स्विंमिङ पुल, गार्डेन, सिनेमा हल, मल्टिप्लेक्सलाई भने खोल्ने अनुमति दिइएको छैन । साथै स्कुल कलेज खोल्ने अनुमति पनि दिइएको छैन ।

केजरीवालले एक साताको परीक्षणपछि संक्रमणको अवस्था हेरेर लकडाउन थप्ने कि घटाउने भन्ने निधो गरिने बताए । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here