३० जेठ, रौतहट ।
जिल्लामा एक पुरुषले श्रीमतीमाथि तेजाव प्रहार गरेका छन् । जिल्लाको चन्द्रपुर नगरपालिका ७ का ४२ वर्षीय दिपक विश्वकर्माले आफ्नी ३८ वर्षीय श्रीमती दीपिका विश्वकर्मामाथि तेजाव प्रहार गरेका हुन् ।
दीपकले घरायसी विवादका कारण दिपिकामाथि तेजाव प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धीविक्रम शाहका अनुसार तेजाब प्रहारबाट घाइते भएकी महिलालाई चन्द्रनिगाहपुरस्थित एपोलो अस्पतालमा उपचार भैरहेको छ भने एसिड प्रहार गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरि सकेको छ ।
चन्द्रनिगाहपुरमा मनिस एण्ड मनिषा गहना पसल सञ्चालन गर्दै आएका दीपकले सुन सफा गर्नमा प्रयोग गरिने तेजाब (एसिड) प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते भएकी महिलाको बायाँ हात, पेट र खुट्टा जलेको छ ।
दिपिकामाथि भएको घटनाको निन्दा गर्दै मेची महाकाली बुहारी संयुक्त आवाजकी प्रदेश २ संयोजक पूजा पाठकले यो खालको अमानवीय आक्रमण गर्ने पीडकलाई तत्काल कानुनी कार्वाही गर्न माग गरेकी छन् ।