२९ जेठ, तनहुँ ।
श्रीमतीलाई तन्नामा बेरेर मस्र्याङ्दी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामी रहेका छन् । श्रीमती मारेर मस्र्याङदी नदीमा फालेको आरोप प्रहरीको छ । कामीलाई अस्थायी प्रहरी पोष्ट बिरुवाटार र इलाका प्रहरी कार्यालय ठाँटी पोखरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
उनले शुक्रबार बिहान २४ वर्षीय श्रीमती सम्झना रेग्मीलाई गोरखा र तनहुँ जोड्ने नयाँपुलस्थित झोलुङ्गे पुलबाट फालेको स्थानीयले देखेका थिए । उनीहरुले प्रहरीलाई जानकारी गराएपछि लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
कामीले श्रीमतीको गएराति नै मृत्यु भएकाले दाहसंस्कार गर्न एक्लैले सम्भव नभएपछि तन्नामा पोको पारी शव नदीमा फालिदिएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
नदीमा फालिएको भनिएको शवको खोजी भइरहेको भए पनि अहिलेसम्म फेला नपरेको प्रहरीको भनाइ छ । पक्राउ परेका कामी बेवारिसे अवस्थामा नयाँपुलमुनि ओडारमा श्रीमती सम्झनासँग बस्दै आएको खुलेको प्रहरीको भनाइ छ ।
उनीहरुले ६ महिना अघिमात्र बिहे गरेका थिए । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली खटिसकेको छ ।