औसतभन्दा दुई दिन अघि नै नेपालमा भित्रियो मनसुन

२९ जेठ, काठमाडौं ।

यस वर्षको मनसुन नेपाल भित्रिएको छ । औसत मिति जुन १३ अर्थात् जेठ ३० गतेभन्दा दुई दिन अगाडि नै मनसुनको आगमन भएको हो ।

गत वर्ष जुन १२ मा भित्रिएको मनसुन अक्टुबर १२ मा बाहिरिएको थियो ।

शुक्रबार पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन प्रदेश १, प्रदेश २ र बागमती प्रदेशसम्म फैलिएको छ । अबको एक–दुई दिनमा देशैभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गले जानकारी दिए ।

उनका अनुसार आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ ।

नेपालमा मनसुन बाहिरिने औसत अध्यावधिक अवधि अक्टुबर २ तारिख निर्धारण गरिएको छ । यस वर्ष मनसुन अवधिभर देशका धेरैजसो स्थानमा सरदर भन्दा बढी पानी पर्ने प्रक्षेपण मौसमविदले गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद इन्दिरा कँडेलका अनुसार यस वर्षको मनसुनमा हिमाली भेगमा बढी र पहाडी भेगतिर हिमाली भेगको तुलनामा अलि कम पानी पर्ने सम्भावना छ ।

यस्तै तराईका क्षेत्रमा सरदर वर्षा हुने अनुमान छ । प्रदेश १ को दक्षिण भाग र प्रदेश २ को पूर्वी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना औंल्याइएको छ ।

अंग्रेजी महिनाको जुन, जुलाई, अगष्ट र सेप्टेम्बर महिनालाई मनसुनको अवधि भनिन्छ । यो अवधिमा अन्य महिनाहरुमा भन्दा बढी पानी पर्छ । नेपालीको मुख्य बाली धान खेती गर्ने बेलामा पर्ने पानीले किसानहरुलाई राहत नै मिल्छ ।

तर अत्यधिक वर्षाले बाढी, डुबान र पहिरोको जोखिम पनि रहन्छ । त्यसैले बाढी, पहिरो र डुबानबाट हुन सक्ने सम्भावित क्षतिबाट जोगिन पूर्व तयारी गरी सतर्कता अपनाउनुपर्ने मौसमविदहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here