रौतहटका दुई ठूला नदीमा तटबन्ध लगाउन सुरु

२८ जेठ, गौर ।

जिल्लाका दुई ठूला नदी बागमती र लालबकैयाका तटबन्ध र स्परहरुको मर्मत कार्य तीव्र गतिमा अगाडि बढेको छ ।

प्रदेश २ मा बाढीको समयमा धेरै धनजनको क्षति गर्ने यी दुई नदीका कमजोर स्पर मर्मत गर्ने र भत्किएका, कमजोर तटबन्ध पुनः निर्माण भइरहेको हो ।

यस वर्ष वर्षायाममा औसत भन्दा बढी वर्षा हुने र मनसुन पनि चाँडै शुरु हुने पूर्वानुमान रहेकोले तटबन्धहरुलाई दुरुस्त बनाउन लागिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । बागमती र लालबकैयाको बाढीको पानी बस्तीमा प्रवेश गर्न नदिन हर सम्भव प्रयास भइरहेको उनको भनाइ छ ।

रौतहटमा बागमती नदीको ११ र लालबकैयाको १३ स्थानमा बाढी, कटान र डुवानको उच्च जोखिममा रहेको बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजनाको प्रमुख अख्लाख सिद्दिकीले बताए ।

नेपाल भारत सीमा क्षेत्रको जिरो किलोमिटरदेखि साढे १७ किलोमिटर उत्तरसम्मको बागमतीको बाँध उच्च जोखिममा रहेको आयोजना प्रमुख सिद्दिकीले बताए । रौतहटको ब्रम्हपुरी, बसन्तपुर, मत्सरी, गंगापिपरा र रजवडा बाढीको उच्च जोखिम रहेको छ ।

नदी नियन्त्रण आयोजनाको प्रमुख सिद्दिकीले हाल विभिन्न स्थानको बाँध निर्माणको लागि ४१ करोड ४९ लाख रुपैयाँ लाग्ने भएको हुँदा माथिल्लो निकायमा पत्राचार गरिएको उनको भनाइ छ ।

गत चैत महिनामा अर्थ मन्त्रालयसँग बजेट निकासाको लागि आग्रह गरिए पनि अहिलेसम्म नभएको उनले बताए । हाल भइरहेको सबै कामहरु उधारोमा गर्नुपरेको सिद्दिकीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here