बाढीले बगाउँदा एक बेपत्ता

२८ जेठ, दुल्लु ।

बिहीबार बिहान परेको अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा एक युवक बेपत्ता भएका छन् ।

भैरवी–२ स्थित पोडीघाट सिँचाइ आयोजना निर्माणमा कार्यरत सोही वडाका ४० वर्षीय केशव थापालाई बाढीले बगाएर बेपत्ता बनाएको हो । सिँचाइ योजनाको जाली भर्न लागिरहेका बेला एक्कासी खोलामा बाढी आएर बगाएको सँगै रहेका उनका भाइ गणेश थापाले जानकारी दिए ।

‘योजनाको काम नियमित भइरहेकाले जाली भरिरहेको अवस्थामा एक्कासी बाढी आयो, जाली छोप्न खोज्दा बाढीले बगाएर बेपत्ता बनायो,’ थापाले भने ।

स्थानीय योजनामा कार्यरत मजदुर र गाउँलेले उनको शव खोजी गरिरहेका छन् । घटना बिहान ११ बजे पानी घटेलगत्तै खोजीकार्य जारी राखेको र उक्त खोला मिसिएको अर्को खोला छामघाटमा समेतमा बिहानदेखि बगरैबगर हिँड्दा पनि कुनै अत्तोपत्तो नलागेको गणेश थापाले बताए । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुपम श्रेष्ठका अनुसार घटना घटेको खबरपछि इलाका प्रहरी कार्यालय दुल्लुबाट दुई प्रहरी घटनास्थलमा खटाइएको छ ।

खोलामा बाढी एक्कासी आउँदा भरिरहेको जाली जोगाउन खोज्दा केशव बेपत्ता भएकोे उनको भनाइ छ । प्रहरी र स्थानीयवासीले खोजीकार्य जारी राखेका छन् । प्रदेश सरकारको रु १२ लाख रकममा पोडिगाड खोला तटबन्ध तथा सिँचाइ योजनाको काम भइरहेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here