प्रदेश नं. १ ले ल्यायो ‘सासु बुहारी सम्मान’ र ‘ज्येष्ठ नागरिक दन्त उपहार’ नीति

२८ जेठ, विराटनगर ।

प्रदेश १ सरकारले सासु–बुहारी सम्मानको नीति बनाएको छ । साथै ज्येष्ठ नागरिकलाई दन्त उपहारको नीति पनि आगामी आर्थिक वर्षका लागि ल्याएको छ ।

नीति तथा कार्यक्रममा सरकारले सासु–बुहारी सम्मान तथा पुरस्कारका साथै ज्येष्ठ नागरिकका लागि प्रदेश प्रमुख ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रमलाई निरन्तरता दिने नीति लिएको हो । सरकारले ज्येष्ठ नागरिक तीर्थाटन, स्वास्थ्य उपचारसँगै दुर्गम भेगमा रहेर समाजमा योगदान पुर्याएका आमालाई सम्मान गर्न राष्ट्रपति आमा सम्मान, सासु–बुहारी सम्मान तथा पुरस्कार कार्यक्रम सञ्चालन गर्ने नीति लिएको हो ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बिहीबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि र रोजगारलाई प्राथमिकतामा राखिएको छ ।

प्रदेशले आगामी आर्थिक वर्ष मेरो कृषि मेरो पौरख अभियान सञ्चालन गर्ने भएको छ । जमिन बाँझो नराख्ने नीति अनुसार सबै जमिनमा कृषि गर्नका लागि प्रोत्साहन गर्ने नीति लिएको छ ।

स्थानीय तहसँगको सहभागितामा सिँचाई पूर्वाधार र शीतभण्डार सञ्चालन गर्ने लक्ष्य लिएको छ । बिउ तथा बेर्ना आपूर्तिका लागि प्रोत्साहन गर्ने नीति पनि प्रदेश सरकारले लिएको छ । प्राङ्गारिक खेतीका लागि संस्थागत विकास गर्ने तथा मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै मेची अस्पताललाई २ सय बेडको बनाउने नीति लिएको छ । धनकुटा र पाँचथर जिल्ला अस्पताललाई सय–सय बेड र अन्य जिल्ला अस्पताललाई न्युनतम ५० बेडमा स्तरोन्नति गर्ने सरकारको लक्ष्य छ ।

माध्यमिक विद्यालयमा किशोर–किशोरीलाई नियमित मनोसामाजिक विमर्श तथा यौन शिक्षा प्रदान गर्ने नीति लिएको सरकारले विद्यालयहरुमा स्काउट गठन गर्ने उल्लेख गरेको छ । यस्तै सडक, पुल निर्माणसँगै मोरङको पथरीमा महासंग्रहालय निर्माण गर्ने नीति पनि प्रदेश सरकारले लिएको छ ।

प्रदेशका ६२ बहुवर्षीय सडक योजना, ७ वटा प्रादेशिक विशेष सडक आयोजना ८७ वटा मुख्यमन्त्री ग्रामीण कृषि सडक, १२८ बहुवर्षीय सडक पुल निर्माण, ११५ झोलुंगे पुल निर्माण चाँडै सम्पन्न गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here