खोप अपुग भएपछि महानगरले रोक्यो खोप अभियान

२८ जेठ, काठमाडौं ।

काठमाडौं महानगरपालिकामा कोभिड–१९ विरुद्धको खोप अभियान दुई दिन अगाडि नै रोकिएको छ । खोप अभावमा अभियान रोकिएको हो ।

सरकारले खोप उपलब्ध गराउन नसकिने जानकारी गराएका कारण खोप कार्यक्रम स्थगित गर्नुपरेको महानगरका स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाले जेठ २५ गतेदेखि ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई चिनियाँ खोप (भेरोसेल) दिने अभियान सञ्चालन गरेको थियो । तर पर्याप्त खोप उपलब्ध हुन नसकेपछि महानगरले अर्को सूचना जारी नभएसम्मका लागि अभियान स्थगन गर्नुपरेको बताएको छ ।

‘तीन दिनको अवधिमा ६०–६४ वर्ष उमेर समूहका करिब २८ हजार जेष्ठ नागरिकलाई पहिलो डोज खोप दिइसकेका छौं,’ उनले भने, ‘स्वास्थ्य सेवा विभागको खोप महाशाखाबाट भोलिबाट खोप उपलब्ध गराउन नसक्ने जानकारी आएपछि शुक्रबार र शनिबार सञ्चालन हुने खोप अभियान रोक्न बाध्य भएका हौं ।’

जिल्ला जनस्वास्थ्य कार्यालयले काठमाडौं महानगरलाई ३२ हजार खोप उपलब्ध गराएकोमा तीन दिनको अवधिमा २८ हजार प्रयोग भइसकेको उनले बताए । बाँकी रहेको चार हजार खोप अपुग हुने भएपछि सरकारले थप खोप उपलब्ध नगराएसम्मका लागि स्थगित गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here