झापामा अक्सिजन बैंक स्थापना

२७ जेठ, झापा ।

जिल्लाका आइसोलेसन केन्द्र तथा अस्पतालहरूमा अक्सिजन नपाएर कुनै पनि बिरामीको अकालमा ज्यान नजाओस् भन्ने उद्देश्यका साथ बुधबारबाट औपचारिक रुपमा अक्सिजन बैंकको सुरुवात भएको छ ।

झापामा स्थापित ‘एकका लागि एक’ अभियानले स्थापना गरेको अक्सिजन बैंकको झापाको बिर्तामोडमा बुधबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले विधिवत उद्घाटन गरेपछि औपचारिक रुपमा अक्सिजन बैंकको सुरुवात भएको हो ।

अक्सिजन सिलिन्डरको अभावलाई मध्यनजर गर्दै एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्न जनस्तरबाट १ करोड ५३ लाख ७५ हजार सहयोग जुटाएको छ ।

बुधबार उद्घाटन कार्यक्रममा अभियानलाई सिलिन्डर खरिदका लागि झापा जिल्ला सहकारी संघले ५ लाख र अन्तर्राष्ट्रिय झापाले समाजले १५ लाख रुपैयाँ हस्तान्तरण गरे ।

देशभित्र र बाहिर बसेका नेपालीले १ सिलिन्डर बराबर १५ हजारका दरले सहयोग गरेका छन् । अभियानले ३ सय सिलिन्डर खरिद गरेर ल्याइसकेको र थप २ सय सिलिन्डर ल्याउने तयारी गरेको अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए ।

बैंकमा रहेका अक्सिजन सिलिन्डर अस्पताल, आइसोलेसन केन्द्रहरूलाई वितरण गरिने उनले जानकारी दिए । अभियानले १ हजार ११ थान सिलिन्डर खरिद गर्ने छ । सिलिन्डर रिफिलका लागि ८ सय रुपैयाँ लिएर सिलिन्डर उपलब्ध गराइने बताइएको छ ।

एकका लागि एक अभियानले गत वर्ष पीसीआर परीक्षण प्रयोगशाला र प्लाज्मा बैंक पनि समुदायको सहयोगमा स्थापना गरेको थियो । कोटीहोममा स्थापित पीसीआर प्रयोगशालामा अहिले निरन्तर पीसीआर परीक्षण भइरहेको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले अक्सिजन बैंक मात्र नभएर अब प्लान्ट स्थापना गर्नतिर ध्यान दिन आग्रह गरे ।

अभियानका संयोजक महेन्द्रकुमार गिरीले अबको काम प्लान्ट स्थापना नै रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here