२७ जेठ, काठमाडौं ।
नेपालमा कोभिड–१९ को पहिलो र दोस्रो लहरमा नै बालबालिकामा ‘मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम’ (एमआइएस–सी) को सङ्क्रमण देखिएको छ । यो बालबालिकामा देखिने कोभिड–१९ को सङ्क्रमणपछिको जटिलता हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणको तेस्रो र चौथो लहरमा एमआइएस–सी सङ्क्रमण बढी देखिने जनाएको छ ।
एमआइएस–सी भनेको कोरोना सङक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुन्निने समस्या हो । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सङ्क्रमणको पहिलो लहर सकिने लाग्दा नै बालबालिकामा त्यस्तो सङ्क्रमण देखिन थालेको पुष्टि गरे ।
उनले कोभिड–१९ विरुद्ध शरीरले उत्पादन गरेको रोग प्रतिरोधात्मक क्षमताले शरिरमा नै हानी गरेपछि बालबालिकामा मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुन्निने समस्या देखिने गरेको बताए । उनले ती सङ्क्रमित बालबालिकाको दुईदेखि तीन हप्तामा उपचार गरेपछि निको हुने बताए ।
कान्ति बाल अस्पतालका निर्देशक डा.आरपि बिच्छाले पनि पहिलो लहरको ओरालो लाग्ने बेलादेखि नै उक्त सङ्क्रमणका बालबालिका देखिन थालेको जानकारी दिए । उनका अनुसार अहिलेसम्म ४१ जना बालबालिकामा यस्तो समस्या देखिएको छ । तीमध्ये ३८ बालबालिकाको उपचारपछि निको भएर घर फर्किसकेका छन् भने तीन जना अहिले कान्ति अस्पतालमा उपचाररत रहेका छन् ।
‘नेपालमा पहिलो लहर उच्चतम विन्दुबाट तल झर्ने क्रममा पहिलो पटक बालबालिकामा एमआइएस–सी को सङ्क्रमण देखिएको हो,’ उनले भने, ‘अहिले दोस्रो लहरको पनि ओरालो लाग्ने क्रममा केही बालबालिकामा बिरामी भएर आएका छन् ।’
उनका अनुसार पहिलो लहरमा २३ बालबालिकामा र दोस्रो लहरमा १५ जना बालबालिकामा बिरामी भएका थिए । ती सबै बालबालिका उपचार गरी घर पठाइसकेको अस्पतालले जनाएको छ । यस्तो खालको सङ्क्रमणको उपचारका लागि अस्पतालले मापदण्ड बनाई उपचार गरिरहेको छ ।
पछिल्लो पटक देखिएका १५ जना बालबालिका एक वर्षदेखि १३ वर्ष उमेर समूहका थिए । ‘यो रोग पनि कोभिड–१९ कै कारण देखिने सङ्क्रमण हो । यो बालबालिकामा देखिने बित्तिकै आत्तिहाल्नु हुन्न,’ उनले भने, ‘समयमा उपचार गरे सत प्रतिशत निको हुन्छ ।’ उनका अनुसार बेलायतमा देखिएको यो रोग एक प्रतिशत बालबालिकामा मात्र लाग्ने गर्दछ ।
यो सामान्यत कोरोना सङक्रमण भएको दुईदेखि चार हप्तापछि देखा पर्ने गर्दछ । यसका लक्षणमा आँखा रातो हुनु, सास फेर्न गाह्रो हुनु, घाँटी दुख्नु, पेट दुख्नु, ज्वरो आउनु, पखाला लाग्नु, छाला, ओठ वा नङ निलो हुनु, शरीरमा डाबर आउनु, थकान महसुस हुनु जस्ता देखिने गर्दछन् । मन्त्रालयले सङ्क्रमित वा सङ्क्रमितसँग सम्पर्कमा आएका बालबालिकालाई तीन दिनसम्म ज्वरो आएमा वा लक्षणमध्ये कुनै दुई वटा देखा परेमा अस्पताल लैजान अनुरोध गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो र चौथो लहरमा झन् बढी देखिने भएकोले बालबालिकाको उपचारमा तयारी अवस्थामा रहन सबै अस्पताललाई निर्देशन दिइसकेको छ । मन्त्रालयको निर्देशन अनुसार सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड–१९ सङ्क्रमित बालबालिकाको उपचारका लागि छुट्टाउने तयारी समेत गरिसकेका छन् । कान्ति अस्पतालका निर्देशक डा विच्छाले एमआइएस–सी को सङ्क्रमण भएका बालबालिकाको उपचारका लागि तयारी अवस्थामा रहेको जानकारी दिए ।
उनका अनुसार अहिले अस्पतालमा ५६ सघन उपचार कक्ष (आइसियु), २५ हाइ डिपेडेन्सी युनिट (एचडियु) रहेका छन् । यस्तै १० आइसियु र २५ एचडियु थप्ने क्रममा रहेको छ । अहिले कोभिड–१९ सङ्क्रमित १६ बालबालिकाको उपचार अस्पतालमा भइरहेको छ ।
बालबालिकामा एमआइएस–सी को संक्रमणबाट बिरामी तेस्रो र चौथो लहरबाट झनै बढ्ने भएकोले नै यसअघि स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले बालबालिकाको उपचारका लागि सातै वटा प्रदेशमा आइसियू र भेन्टिलेटर सहितको अस्पताल स्थापना गर्ने बताइसकेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागरराज भण्डारीले बालबालिकाको उपचारलाई लक्षित गरेर २० प्रतिशत शय्या छुट्याउन थालिएको बताए ।(रासस)