२५ जेठ, सिन्धुली ।
जिल्लामा सोमबार पानीसँगै आएको हावाहुरीले चार घरको छानो उडाएको छ । कमलामाई नगरपालिका–२ छत्युन्टारमा हावाहुरीले चार घरको छानो उडाएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारीअनुसार यसबाट लाखौँको क्षति भएको छ ।
छत्युन्टार बस्ने पञ्चकुमार घलानको ढुङ्गा, माटो र काठले बनेको जस्ताले छाएको दुईतले घरको छानो उडाउँदा रु ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी नायब उपरीक्षक मनोज लामाले जानकारी दिए । यस्तै चक्रमान लामाको छानो उडाउँदा रु ६० हजार, निश्चल लामाको रु ४५ हजार र नातिबाबु दमाईको रु ८० हजार बराबरको क्षति भएको उनले बताए ।
यसअघि हावाहुरीले एघार हजार भोल्टेजको विद्युत् तार छिन्दा कमलामाई नगरपालिका–७ निवासी बासकटेरी निवासी अन्दाजी १५ वर्षीय शान्तिमाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । करेन्ट लागेर गीता पाण्डे सामान्य घाइते भएका थिए ।
जिल्लामा केही दिनयता दैनिकरूपमा वर्षा भइरहेको छ । वर्षाले क्षति पु¥याएका विवरण प्राप्त हुन थालेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । (रासस)