अल्जाइमरको उपचारका लागि अमेरिकामा एक औषधिलाई स्वीकृति प्रदान

२५ जेठ, काठमाडौं ।

अमेरिकाले अल्जाइमर रोगको उपचारमा प्रयोगका लागि एक औषधिलाई स्वीकृति प्रदान गरेको छ ।

अडुकेनमाब नाम गरेको औषधि अल्जाइमरका बिरामीको उपचारका लागि प्रयोग गर्न स्वीकृति प्रदान गरिएको हो । झण्डै २० वर्षयता पहिलोपटक अल्जाइमरको औषधिले स्वीकृति पाएको हो ।

यो औषधिले अल्जाइमरका लक्षण भन्दा अल्जाइमरका कारण निम्तने डिमेन्सियासहितका अवस्था रोक्नका लागि काम गर्ने देखिएको छ । अल्जाइमरको क्षेत्रमा काम गर्दै आएकाहरुले औषधिलाई स्वीकृति प्रदान गरिनु सकारात्मक रहेको बताएका छन् ।

तर वैज्ञानिकहरु भने यसको सम्भावित प्रभावलाई लिएर विभाजित छन् । परीक्षणको नतिजामा अनिश्चितता रहेका कारण वैज्ञानिकहरु विभाजित भएका हुन् ।

अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले भनेको छ, ‘परीक्षणका प्रमाणहरुले अडुकेनमाबले मस्तिष्कमा अमालोइड बिटा प्लाक्सको मात्रा कम गर्ने देखिएको छ । जुन अल्जाइमरका बिरामीका लागि सहयोगी हुने देखिन्छ ।’

सन् २०१९ मा भएको अडुकेनमाबको अन्तिम चरणको अन्तर्राष्ट्रिय परीक्षणमा झण्डै तीन हजार बिरामी सहभागी थिए । सो औषधि स्मरण शक्ति क्षयीकरणमा सहयोगी नभएको भन्दै परीक्षण रोकिएको थियो ।

तर सोही वर्ष अमेरिकी उत्पादक बायोजेनले थप तथ्यांकहरुको विश्लेषण गर्दा औषधिले काम गरेको देखिएको थियो । (एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here