आजबाट देशभर चिनियाँ खोप लगाईँदै

२५ जेठ, काठमाडौं ।

चीनबाट अनुदान प्राप्त चिनियाँ खोप आजबाट विभिन्न उमेर समूहलाई लगाइँदैछ ।

यसअघि सरकारले ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाउने भने पनि सोमबार स्वास्थ्य सेवा विभागले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै सीमित जिल्लाहरुमा १८ वर्षमाथिका र ५५ वर्षमाथिका उमेर समूहलाई समेत दिन भनिएको थियो ।

सोमबारको परिपत्र अनुसार अब तिब्बतसँग जोडिएका जिल्लामा १८ वर्षमाथिका पहिलो डोज लगाउन बाँकीलाई प्राथमिकता दिइनेछ भने सबै हिमाली जिल्लाका ५५ वर्षदेखि ५९ वर्षबीचका पहिलो डोज लगाउन बाँकी पनि प्राथमिकता क्रममा पर्ने भएका हुन् ।

अन्य जिल्लाको हकमा ६२–६४ वर्ष उमेर समूहलाई प्राथमिकता दिन परिपत्रमार्फत् आग्रह गरिएको छ । ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकको लागि खोप दिने भनिए पनि पर्याप्त खोप नभएकोले माथिल्लो उमेरका ज्येष्ठ नागरिकलाई प्राथमिकता दिने र उपलब्धताको आधारमा बाँकीलाई खोप दिन आग्रह गरिएको छ ।

काठमाडौं उपत्यकाका तीनै जिल्लामा परिपत्र अनुसार ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप उपलब्ध गराइने भएको छ भने पर्याप्तताको आधारमा ६० र ६१ वर्ष उमेर समूहलाई प्राथमिकता दिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here