२४ जेठ, सर्लाही ।
जिल्लामा व्यवस्थित शवदाहगृह निर्माणको कार्य सुरु भएको छ । प्रदेश २ सरकारको बजेट र स्थानीयहरुको आर्थिक सहयोगमा सदरमुकाम मलंगवास्थित झिम नदी किनारमा स्वर्गद्वार शवदाह गृहको निर्माण भइरहेको छ ।
यसका लागि प्रदेश सरकारले छुट्याएको ५० लाख रुपैयाँ दिएको छ भने बाँकी रकम स्थानीय व्यक्तिहरुले स्वेच्छाले प्रदान गरेका छन् । मलंगवासहित वरपरका गाउँहरुबाट पनि शवको दाहसंस्कार गर्न झिमनदी नै ल्याइन्छ । तर त्यहाँ वर्षा याममा बाढी आउँदा शव जलाउन समस्या हुने गरेको महसुस गर्दै प्रदेश २ सरकार सँग बजेट माग गरिएको स्थानीयवासी तथा समाजसेवी सञ्जय गुप्ता सुगन्धले बताए ।
हुलाकी सडक अन्तर्गत मलंगवा र भेल्ही गाउँको बीचमा पर्ने झिमनदीको दक्षिणपट्टीको नदी किनारमा मन्दिर सहितको शवदाह गृहको निर्माण कार्य भइरहेको छ । जसको हालसम्म ६० प्रतिशत काम सम्पन्न भइसकेको र केही महिनामै बाँकी निर्माण कार्य समाप्त गरी स्थानीयका लागि खुला गरिनेछ ।
हालसम्म ८० प्रतिशत जति काम सम्पन्न भइसकेको छ । शवदाह गृह निर्माणका लागि प्रदेश सरकारले प्रदान गरेको बजेटबाहेक स्थानीयले पनि सहयोग गरेका छन् ।
आइतवार मात्र मलंगवाका रामएकवाल गुप्ता र संजय गुप्ताले ५ लाख २१ हजार रुपैयाँ सहयोग गरे । यसैगरी जय प्रकाश अग्रवाल र नवनित अग्रवालबाट ५ लाख ११ हजार, डा. घनश्याम शाहबाट १ लाख २५ हजार, खेम गोयल र विकाश गोयलबाट १ लाख २१ हजार, र सत्यनारायण अग्रवालबाट १ लाख ११ हजार रुपैयाँ सहयोग जुटेको छ ।
जिल्लाभन्दा बाहिरका व्यापारीले पनि यसमा सहयोग गरेका छन् । वीरगञ्जका राजकुमार दारुकाले १ लाख ११ हजार रुपैयाँ चन्दा दिएका छन् भने, मलंगवाकै राजकुमार मिश्र र किशोरी मिश्रबाट ५१ हजार नगद प्राप्त भएको छ । महेन्द्र शर्मा, प्रेम किशोर गुप्ता, सुशिल अग्रवाल र अमित अग्रवाले ५१÷५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
प्रभात गुप्ता र सुरेन्द्र गुप्ताले ११÷११ हजार रुपैयाँ सहयोग गरेका छन् । सहयोगी दाताबाट झण्डै १६ लाख रुपैयाँ नगद संकलन भएको छ । निर्माणाधिन अवस्थामा रहेको शवदाह गृह सार्वजनिक सम्पत्ति रहेकोले यसलाई पुर्णता दिन सबैको साथको आवश्यकता रहेकोले आआफ्नो स्तरबाट सहयोग गर्न सञ्जय गुप्ताले आग्रह गरे ।