निरज यादव/प्रदेशपालिका
२४ जेठ, सर्लाही ।
कौडेना गाँउपालिका–६ सक्रौल मा चार वर्ष देखि मुल सडकको एउटा पुल बन्न सकेको छैन । पुल निर्माण का लागि बजेट प्रत्येक वर्ष विनियोजन हुन्छ तर जनप्रतिनिधि र सदस्यहरुको लापरवाही ले बजेट फ्रिज भएर जान्छ ।
गाँउपालिका अध्यक्ष रामप्रसाद उक्त कुरा स्वीकार्छन् । विगत चार वर्षदेखि जनप्रतिनिधिको बेवास्ताका कारण सक्रौल–६ का स्थानीय आफ्नो ज्यान जोखिममा राखेर सडक भत्केको उक्त स्थानबाट आउजाउ गर्छन् ।
स्थानीयका अनुसार पटक–पटक जनप्रतिनिधिलाई पुल बनाउन आग्रह गर्दा पनि उनीहरुले कुनै चासो लिएका छैनन् । आश्वासन मात्र दिने गरेको उनीहरुको गुनासो छ ।
वर्षा याममा बाढीपहिरो आउँदा खेतका काम गर्न कठिन हुने गरेको स्थानीय बताउँछन् । ‘आउन जान नै मिल्दैन । तर जानै पर्ने बाध्यता हुन्छ, पौडी खेलेर जानु पर्छ । अहिले त बानी भइसक्यो,’ स्थानीय राजिव यादव ले प्रदेशपालिकासँग भने ।
गाउँवासीको मूल सडक नै त्यही भएकाले खेति किसानी गर्ने, धान रोप्नेदेखि ल्याउने काम सोही सडकबाट हुन्छ । तर टोल जोड्ने सडक नै नभएपछि उब्जनीदेखि विक्री वितरणमा पनि अप्ठ्यारो हुने गरेको यादवले बताए । ‘हामीले ४ वर्षदेखि समस्या भोगिरहेका छौँ, जनप्रतिनिधिले बुझ्दैनन्,’ उनले भने ।