२४ जेठ, काठमाडौं ।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री राजेन्द्र महतोले नेपालमा राष्ट्रिय मुक्ति क्रान्तिमार्फत बहुलराष्ट्रिय राज्य निर्माण गर्नुपर्छ भनेर दिएको अभिव्यक्तिलाई समर्थन गर्दै विभिन्न क्षेत्रका ८१ जनाले आइतबार विज्ञप्ति जारी गरेका छन् ।
उपप्रधानमन्त्री महतोको सो अभिव्यक्ति ‘जायज’ भन्दै उनीहरुले ‘उच्च हिन्दुवर्ण अहंकार तथा औपनिवेशिक मानसिकता बोकेका केही राजनीतिक पार्टीका नेताहरुले बहुलराष्ट्रिय राज्यको मागलाई अनर्गलरुपमा राज्य विखण्डनसँग जोडेर आरोपित गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
साझा वंश, इतिहास, संस्कृति, भाषा र साझा क्षेत्र वा भूगोलमा आवाद गरेका जनताहरुको समहुलाई ‘राष्ट्र’ भनिने उनीहरुको जिकिर छ । नेपालको जनगणना २०६८ ले नेपालमा १ सय २५ भन्दा बढी राष्ट्र÷जातीहरु रहेको उल्लेख गर्दै उनीहरुले पृथ्वीनारायण शाहको गोर्खा साम्राज्य विस्तार भएपछि सैन्य बल प्रयोग गरेर यहाँका बहुलराष्ट्रहरु माथि जातीय संहारमार्फत एकलराष्ट्रिय राज्य बनाउने काम भएको जनाएका छन् ।
‘गोर्खालीहरुको यस्तो एकलराष्ट्रिय राज्य गणतन्त्रमा पनि कायम रहनु भनेको आन्तरिक औपनिवेशिकता हो,’ विज्ञप्तिमा उनीहरुले भनेका छन्, ‘हजारौं वर्षदेखि यस भूमिलाई आवाद गरेका भूमि पुत्र÷पुत्रीहरुको सामाजिक–सांस्कृतिक, आर्थिक र राजनैतिक प्रणालीलाई सैन्य बल तथा औपनिवेशिक कानुनमार्फत समाप्त पारेर एकल हिन्दु राष्ट्रिय राज्य निर्माण गर्दै अन्य सार्वभौम राष्ट्रहरुलाई राज्यविहीन बनाउने औपनिवेशिक परियोजनालाई २१आंै शताब्दीका नेपालका सार्वभौम जनताहरुले अस्वीकार गर्दछ ।’
देशमा लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेको परिवेशमा पनि यहाँका बहुलराष्ट्रहरु माथि पहाडी हिन्दु उच्च जातीय औपनिवेशिकतामा आधारित राज्यसत्ता थोपर्ने कार्य कदापी स्वीकार्य नहुने उनीहरुको भनाइ छ ।
‘हिजो गणतन्त्र र संघीयताले देश टुक्रिन्छ भन्नेहरु आज नयाँ राजाका रुपमा आसिन छन् र तिनैले फेरि आज बहुलराष्ट्रिय राज्यप्रति अफवाह फैलाइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
बहुलराष्ट्रिय राज्य बोलिभिया र एक्वेडरको उदाहरण दिँदै उनीहरुले ती मुलुक नटुक्रिएको, बरु अझ सशक्त रुपमा विश्वकै तीव्र गतिको आर्थिक विकास हासिल गरिरहेको जिकिर गरेका छन् ।
उनीहरुले आन्तरिक औपनिवेशिकता मुक्त बहुलराष्ट्रिय राज्यप्रति प्रतिवद्ध हुन राज्यविहीन राष्ट्रहरुलाई आह्वानसमेत गरेका छन् ।
यसरी विज्ञप्ति जारी गर्नेमा पूर्वमन्त्रीद्वय डा. केशवमान शाक्य र शिवलाल थापा, पूर्वराजदूत डा. गणेश योन्जन लगायत ८१ जना छन् ।