२४ जेठ, काठमाडौं ।
प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको आह्वानलाई माधव नेपाल पक्षले अस्वीकार गरेको छ ।
प्रारम्भिक प्रतिक्रिया दिँदै नेताहरुले ओलीको आह्वान जालझेलपूर्ण रहेको बताएका छन् । यसबारे औपचारिक धारणा भने आज बस्ने स्थायी कमिटीको बैठकबाट सार्वजनिक गर्ने माधव नेपाल पक्षका नेताहरुको तयारी छ ।
एमाले माधव नेपाल पक्षका नेता युवराज ज्ञवालीले भने, ‘आज १० बजे स्थायी कमिटीका साथीहरुसँग छलफल गर्छौं र औपचारिक धारणा बनाउँछौं ।’
अध्यक्ष ओलीले आइतबार राति विभिन्न सर्तसहित एकताका लागि आह्वान गरेका थिए । सो आह्वान पत्रमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागसहित सर्वोच्च अदालतमा दायर गरिएको रिट फिर्ता लिनुपर्ने लगायतका बुँदा छन् । तर ओलीले संसद विघटन गलत थियो भनेर स्वीकार नगरेकोप्रति नेपाल पक्ष रुष्ट छ ।
नेपालपक्षीय एक नेताले भने, ‘ओलीको पत्रको केही अर्थ छैन । संसद विघटनमा उहाँले आत्मालोचना पनि गर्नु भएको छैन । मुद्दा फिर्ता लिने कुरै हुँदैन ।’