पार्टी एकता हुन नदिने डिजाइनका साथ वक्तव्य आयो : झाँक्री

२४ जेठ, काठमाडौं ।

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले सामाजिक सन्जालमार्फत् प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीको वक्तव्यको बारेमा आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।

ओलीको आह्वान झुक्याउन, अलमलाउन र मिडिया खपतको लागि हो भनेर बुझ्नुपर्ने उनको भनाइ छ । ‘एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होइन,’ उनले लेखेकी छन्, ‘यो साँच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्ष बिचमा सहमति गरी वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउँथ्यो ।’

ओलीको कट्टर आलोचक मानिने झाँक्रीले थप लेखेकी छन्, ‘अझ गम्भिर कुरा त के छ भने बुदा नं. ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिने छ भनिएको छ । यो कसले फिर्ता लिने ? फिर्ता लिने पक्षसँग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होइन र ?’

पार्टी एकता हुन नदिने डिजाइनका साथ ओलीको वक्तव्य आएको भन्दै उनले यसप्रति भ्रममा नपर्न अनुरोध गरेकी छन् ।

अध्यक्ष ओलीले आइतबार राति विभिन्न सर्तसहित एकताका लागि आह्वान गरेका थिए । सो आह्वान पत्रमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागसहित सर्वोच्च अदालतमा दायर गरिएको रिट फिर्ता लिनुपर्ने लगायतका बुँदा छन् ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here