कोरोना संक्रमित बालबालिकाको उपचारका लागि नारायणी अस्पतालमा सुविधासम्पन्न पिआइसियु स्थापना

२४ जेठ, वीरगञ्ज ।

विज्ञहरुले कोरोना महामारीको तेस्रो लहर आउने चेतावनी दिइरहेका बेला वीरगञ्जको नारायणी अस्पतालले कोरोना संक्रमित बालबालिकाको उपचारका लागि सुविधा सम्पन्न सघन चिकित्सा कक्ष (पिआइसियु) निर्माण गरेको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघले ३० बेडको पीआईसियु कक्ष तयार गरी नारायणी अस्पताललाई हस्तान्तरण गरेको हो । संघका अध्यक्ष सुबोध गुप्ता र पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले पीआईसीयु कक्ष, अस्पतालका निमित्त मेसु डा. वीरेन्द्र प्रधानलाई हस्तान्तरण गरेका छन् ।

नारायणी अस्पतालमा १२ दिनको अवधिमा २५ लाख रुपैयाँ लागतमा बाल सघन चिकित्सा इकाइ निर्माण गरिएको अध्यक्ष गुप्ताले बताए । ‘निजी अस्पतालमा उपचारमा लाग्ने खर्च आम सर्वसाधारणले बेहोर्न सक्दैनन् । गरिब, विपन्नको उपचार गर्ने थलो भनेको नारायणी अस्पताल नै हो,’ उनले भने, ‘त्यसैलाई मध्यनजर गरेर बाल उपचार कक्ष बनाएका हौं, भविष्यमा जटिल अवस्थाका बिरामी बालबालिका आएपनि उपचारका लागि निजी अस्पताल जान पर्दैन भन्ने विश्वास लिएका छौं ।’

उक्त उपचार कक्षमा अक्सिजन पाइपलाइन जडान गर्ने लगायत बाँकी काम संघीय सरकारले गराउने अध्यक्ष गुप्ताले बताए । नारायणी अस्पतालका निमित्त मेसु डा. प्रधानले एनेस्थेसिया, पेड्रियाट्रिकको टोलीसँग छलफल पछि कसरी उपयोगमा ल्याउने भन्नेबारे निर्णय गरिने बताए ।

उनले भने ‘कोरोनाको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने भनिएको छ, त्यसैका लागि पूर्व तयारी गरेका छौं । आवश्यक समान जोडेर राख्छौं । जरुरी पर्दा आवश्यकता अनुसार उपयोग गर्छौं ।’

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here