२४ जेठ, काठमाडौं ।
नेपाली कांग्रेसले प्रदेश नं. २ मा जनता समाजवादी पार्टी (जसपा)सँग सत्ता साझेदारीबारे निर्णय गर्ने अधिकार संसदीय दलका नेता रामसरोज यादवलाई दिएको छ ।
आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले नीति कार्यक्रम, बजेट र सत्ता साझेदारीको विषयमा निर्णय गर्ने अधिकार नेता यादवलाई दिएको हो ।
‘सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम, बजेट र केन्द्रकै गठबन्धन अनुसार सत्ता साझेदारी गर्न कुन सांसदलाई कतिखेर कहाँ बोलाउनुपर्ने र छलफल गर्नुपर्ने भनी निर्णय गर्ने अधिकार मलाई दिएको छ,’ संसदीय दलका नेता यादवले भने ।
प्रदेश २ मा नीति तथा कार्यक्रम पारित, नयाँ सत्ता समीकरणका लागि निर्णायक देखिएकाले जसपा कांग्रेससँग सत्ता साझेदारीका लागि निरन्तर छलफलमा छ ।
यादवले जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि सत्ता साझेदारीका विषयमा कुराकानी भएको बताए । ‘केन्द्रकै गठबन्धन अनुसार सत्ता साझेदारी, पावर शेयरिङको विषयमा सँगै जाने विषयमा उहाँसँग छलफल भएको छ,’ नेता यादवले भने ।
औपचारिक रुपमै जसपा विभाजित हुने अवस्थामा पुगेपछि प्रदेश २ मा महन्थ ठाकुर पक्षका मन्त्री तथा राज्यमन्त्रीलाई हटाएर कांग्रेस र माओवादीसँग मिलेर सरकार बनाउन जसपाले छलफललाई तीव्रता दिएको छ ।