प्रदेश १ मा ७० हजारलाई कोभिडविरुद्धको खोप लगाइने

२४ जेठ, विराटनगर ।

प्रदेश नं. १ मा ७० हजारलाई कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाइने भएको छ ।

भोलिदेखि प्रदेश १ का १४ वटै जिल्लामा खोप लगाइने भएको हो । ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप लगाउने गरी १४ वटै जिल्लामा खोप पठाउने काम भइरहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख शम्भु शाहले जानकारी दिए ।

उनका अनुसार भोलिसम्म प्रदेश १ का सबै जिल्लामा खोप पुगिसक्ने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश १ मा दुवै मात्राका लागि १ लाख ४० हजार ५ सय ५ डोज खोप पठाएको छ । प्रदेश स्वास्थ्य आपूर्तिमा आएको खोपलाई जिल्ला–जिल्लामा पठाउने काम भइरहेको उनले बताए ।

शाहका अनुसार ताप्लेजुङमा ३ हजार ७ सय ३, संखुवासभामा ४ हजार ४ सयय, सोलुखुम्वुमा २ हजार ८ सय ८५, ओखलढुङ्गामा ४ हजार २ सय ९१ र खोटाङमा ४ हजार ८ सय ४८ डोज खोप पुर्याइएको छ । भोजपुरमा ४ हजार ३ सय ४७, धनकुटामा ४ हजार ८ सय ५३ र तेह्रथुममा २ हजार ८ सय ४६ डोज खोप पठाइएको छ । पाँचथरमा ५ हजार ५ सय ८१, इलाममा ८ हजार ८ सय ६२, झापामा २६ हजार ४ सय १९, मोरङमा ३१ हजार १ सय ८५, सुनसरीमा २६ हजार १ सय ३२ र उदयपुरमा १० हजार १ सय ५१ डोज खोप पठाएको बताइएको छ ।

कोभिड १९ विरुद्धको भेरोसेल खोप सरकारले निर्धारण गरेको मापदण्ड अनुसारका व्यक्तिहरुलाई मात्र लगाउन सामाजिक विकासमन्त्री उषाकला राईले निर्देशन दिएकी छन् ।

उनले सबै नागरिकलाई चाँडोभन्दा चाँडो कोभिड–१९ विरुद्धको खोप लगाउन सरकार लागि परेको बताइन् । विश्व स्वास्थ्य संगठनले भेरोसेल १८ वर्षमाथि जुनसुकै उमेर समूहले लगाउन मिल्ने भनेपछि पहिलो चरणमा प्राप्त खोप ६०–६४ वर्ष उमेर समूहका व्यक्तिलाई मात्र लगाउन सरकारले मापदण्ड बनाएकाले सोही अनुसार गर्न भनिएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here