२३ जेठ, वीरगंज ।
दुई वर्षसम्म पनि सडक निर्माण नभएपछि पीडित बनेका स्थानीयले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियार, ठेकेदार हरिनारायण रौनियार र शहरी विकासका हाकिमको पुतला जलाएका छन् ।
आईतबार वीरगंज महानगरपालिका वडा नम्बर २० अपौनी र हरपतगञ्जका बासिन्दाले पप्पुको बदमासीको विरोध र दबाबका लागि भन्दै उनीहरुको पुतला जलाएका हुन् । उक्त वडाको सडकमा भेला भएका त्यहाँका स्थानीयले पप्पु, हरिनारायण र शहरी विकासका हाकिमको पुतला जलाउँदै उनीहरुको विरोधमा नाराबाजी समेत गरेका छन् ।
शहरी विकास कार्यलयको मातहतमा रहेको वीरगंजको ड्राइपोर्टदेखि वीरगंज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीसम्म जोड्ने ३ किलोमिटर सडक २ वर्षमा निर्माणको ठेक्का सकारेको पप्पु कन्स्ट्रक्सनले हालसम्म पनि सडक नबनाएको स्थानीय बताउँछन् । समयमा सडक निर्माण नहुँदा गाउँका बासिन्दासँगै उक्त बाटो भएर आवतजावत गर्ने यात्रुहरुले समेत सास्ती खेप्नु परिरहेको उनीहरुको भनाइ छ ।
नेकपा एमालेका युवा नेता रामकुमार सिंह (पराग) ले पप्पुले ३१ फिटे सडक निर्माण गर्ने भन्दै बाटोमा पर्ने घरहरु भत्काउन लगाएर अलपत्र छोडेको बताए । २०७५ सालमा दुई वर्ष भित्रमा काम सक्ने गरी ठेक्का सकारेको पप्पु कन्स्ट्रक्सनले सो ठेक्का पेटी ठेक्का मार्फत अन्य ठेकेदारलाई ठेक्का दिएको छ ।
उक्त सडक निर्माणको लागि वडामार्फत धेरै पहल गर्दा पनि निर्माण कम्पनीलाई कुनै असर नपरेको वडाअध्यक्ष पारस प्रसाद यादव बताउँछन् ।
पप्पु कन्स्ट्रक्सनले जिम्मा दिएको पेटी ठेकेदारले काम नगरेको र आफुले दबाब दिँदा पप्पु कन्स्ट्रक्सनले रकम नदिएको हुँदा दुई ठेकेदारको विवाद अदालतसम्म पुगेको अध्यक्ष यादवले जानकारी दिए ।
सोही विवादलाई लिएर पेटी ठेकेदारले पप्पुले रकम नदिएको भन्दै गत कात्तिकमा नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलन नै गरेका थिए ।
यसअघि आइतबार बिहान नै अपौनीका स्थानीयले पप्पु कन्स्ट्रक्सनको गाडी र कर्मचारीलाई नियन्त्रणमा लिएका थिए ।
घर भत्काएर साइट क्लीयरेन्स गरेको २ वर्ष बित्दासमेत निर्माण कम्पनीले सडक निर्माण नगर्दा आजित बनेका स्थानीयले पप्पु कन्स्ट्रक्सनका प्रमुख र शहरी विकासका प्रमुखको पुतला दहन गरेर विरोध गर्ने योजना बनाएका थिए । उक्त योजना विफल पार्न पुगेका कर्मचारी चढ्ने बा १२ च ५७५ नम्बरको गाडीलाई स्थानीयले घेराउ गर्दै नियन्त्रणमा लिएका थिए ।
प्रहरीको आग्रहपछि स्थानीयले गाडी र कर्मचारीलाई छाडेका थिए ।