– अशोक कुमार झा
यो सृष्टिको निर्माण प्रकृति र पुरुषको संयोगले भएको हो । तथापि प्रकृति अहम् र महत्वपुर्ण छ । त्यस्तै जीवको उत्पतिमा पनि प्रकृति र पुरुषको भुमिका हुन्छ । जसमा प्रकृति अर्थात स्त्री जातको महत्वपुर्ण भुमिका हुन्छ ।
यहाँ स्त्रीलाई प्रकृति संग तुलना गर्नुका कारण पर्याप्त छन् । हरेक दिन पछि रात र त्यस पछि पुनः दिनको आगमन हुन्छ । हरेक २४ घण्टामा दिन बदलिन्छ, जुन सौर्य समय वा सौर्य मासको रुपमा परिणत हुन्छ । पृथ्वीको गति, सुर्यको गति र १२ राशीमा प्रवेशको कारण १२ महिना हुन्छ ।
त्यस्तै हरेक १५ दिनमा पक्ष बदलिन्छ । सामान्यतया पक्ष १५ दिनको भनिए पनि यो १३,१४,१५,१६ दिनको हुन्छ । दुई पक्षको १ चन्द्रमास हुन्छ जुन नक्षत्र र चन्द्रमाको गतिमा आधारित हुन्छ । नक्षत्र २७ वटा हुन्छ । हरेक नक्षत्रमा चन्द्रमाले त्यसलाई पार गर्न करिब करीब १ दिनको समय लिन्छ । औसतन २७ वा २८ दिनको एक चन्द्रमास हुन्छ । यही चन्द्रमासको हिसाबले एक निश्चित उमेर समूहका स्त्रीहरुमा मासिक चक्र हुन्छ जसलाई महिनाबारी पनि भनिन्छ । जुन २८ दिनको हुन्छ । महिनाबारी पुर्णरुपले चन्द्रमा र नक्षत्रको गतिमा आधारित हुन् जसकारणले निश्चित उमेर समुहका स्त्रीहरुलाई प्रकृति भन्दा कुनै पनि अतिशयोक्ति न होला ।
स्वस्थ्य सन्तान प्राप्तीको लागि गर्भधारण गर्ने स्त्री शारीरिक र मानसिक रुपले सबल, सक्षम र स्वस्थ हुनु नितान्त जरुरी हुन्छ । शारीरिक रुपमा सबल हुनुमा सर्वप्रथम उमेरले अहम भुमिका खेल्छ जसमा वैद्यकीय सुभाषित साहित्यमा भनिएको छ की पुरुषको हकमा २५ र स्त्रीको हकमा सो भन्दा कम समक्ष उमेर मानिएको छ ।
“पञ्वविंशति पर्यन्तं व्रह्मचर्य समभ्यसेत । वलवान् शक्ति सम्पन्न शतायुश्च भविश्यति ।। वैद्यकीय सुभाषित साहित्यम् अर्थात विहे बारी २५ वर्ष पारि हुनु पर्ने भनिएको छ जुन उमेरमा हरेक चीज पुष्ठ हुन्छ ।
स्वस्थ्य सन्तानको लागि स्वस्थ अण्डाणु+स्वस्थ शुक्राणु+सही समय+स्वस्थ आहार विहार हुनु जरुरी छ । स्वस्थ अण्डाणुको लागि स्वस्थ स्त्री, सही उमेर र सही समय हुनु जरुरी हुन्छ । त्यस्तै स्वस्थ शुक्राणुको लागि पनि स्वस्थ पुरुष, सही उमेर र सही समय हुनु पनि जरुरी छ ।
गर्भावस्थामा आहार, विहार, आचार र विचार पनि महत्वपुर्ण हुन्छ । आहारविहारले गर्भिणी र गर्भस्थ शिशुको वृद्धि र विकासमा तथा तिनीहरुको स्वास्थ्यमा एकदम महत्वपुर्ण भूमिका निर्वाह गर्दछ । चन्द्रमासको १० महिना र सौर्यमासको ९ महिनासम्म गर्नुपर्ने आहार र बिहारको बारेमा आयुर्वेदका वैज्ञानिकहरुले चरक सुश्रुत बागभट्ट तथा हारित संहिताहरुमा तपशिल किसिमले वर्णन गरेका छन् ।
चरक अनुसार | सुश्रुत अनुसार | अष्टाङ्ग संग्रह | हारित संहिता | |
पहिलो महिना | दुध | पहिलो तीन महिना गुलियो, शितल र पातलो आहार लिने | औषधि युक्त दुध | जेठीमधु+नौनी+मह+दुध |
दोश्रो महिना | दुध + मधुर रसयुक्तऔषधि मह | दुध + मधुर रसयुक्तऔषधि मह | गुलियो दुध+काकोली | |
तेश्रो महिना | दुध + मह + घ्यू | दुध + मह + घ्यू | क्षीर (खीर) | |
चौथो महिना | दुध + नौनी | साठीचामल+दूधको परिकार+जांगल मांस | दुध+१२ ग्रा. नौनी | औषधि युक्त भात |
पाँचौ महिना | दुध + घ्यू | साठीचामल+दूधको परिकार+जांगल मांस +दुधजन्य | दुध + घ्यू | दुध |
छैठौं महिना | दुध +औषधि +घ्यू | गोक्षुर + घ्यू | दुध +औषधि +घ्यू | गुलियो बनाएको दही( चिनी मिश्रीत) |
सातौ महिना | दुध +औषधि +घ्यू | पृश्निपर्णी + घ्यू पृश्निपर्णयादि गण+बला अतिवला शतपुष्पा | क्षीरयवागु+स्थापन बस्ती+अनुवासन वस्ती | घृतखण्ड |
आठौं महिना | दुध + यवागु | अनुवासनवस्ति मधुरद्रव्य,तेल | अनुवासनवस्ति (तेल) मधुरद्रव्य | घृतपुरक |
नवौं महिना | वस्ति + योनी पिचु | वस्ति,जांगल मांस | वस्ति + योनीपिचु | बिभिन्न किसिमको अन्नहरु |
चार वटै संहिताको (शास्त्र) संयुक्त तालिका- खाद्य पदार्थको प्रयोग र त्यसको कारणः
महिना | चरक, सुश्रुत,अष्टाङसंग्रग,हारित संहिताको संयुक्त आहार व्यवस्था | कारण |
पहिलो महिना | दुध+जेठीमधु+नौनी+मह शितल र पातलो आहार लिने |
दुध वा दुधजन्य पदार्थ सामान्यतया सुपाच्य धातुबर्धक धातुपोषक हुन्छ । त्यसै गरी जेठीमधुले पाचनतन्त्रलाई राम्रो बनाउँछ साथै हर्टबर्न गैस्ट्राइटीसलाई ठिक गर्छ । मह शक्ति बर्धक हुन्छ । यी सबै गर्भिणी र गर्भस्थ शिशुलाई स्वास्थ्य सुधार गरी उसको वृद्धि विकासमा अहम् भूमिका निर्वाह गर्दछ। |
दोश्रो महिना | दुध + मधुर रसयुक्तऔषधि मह, शितल र पातलो आहार, काकोली |
काकोली मुख्य रुपमा दुधसँग खाँदा बलवर्धकको रुपमा काम गर्छ । यो वृहंणीय हो जसले सबै धातुलाई पुष्टी गर्छ तथा रसायन पनि हो जसले गर्भिणी र गर्भस्थ शिशुलाई स्वस्थ्य बनाउँछ ।
मधुर रसः गुलियो रस भएको चीजले बल, धातु बढाउँछ र प्रायः शीतल हुन्छ जुन गर्भावस्थाको लागि उपयुक्त रस मानिन्छ। |
तेश्रो महिना | दुध + मह + घ्यू क्षीर (खीर) शितल र पातलो आहार |
यस्ता खाद्य पदार्थले गर्भस्थ शिशुको अंग निर्माण र त्यसको समुचित वृद्धिमा उपयुक्त हुन्छ। |
चौथो महिना | दुध, दुधको परिकार + नौनी साठीचामलको भात+जांगल मांस दुध+१२ ग्रा. नौनी, अन्य औषधि | नौनी ओज(immunity power) वर्धक मानिन्छ । यसले छालालाई राम्रो बनाउँछ तथा धातुवर्धक हुन्छ । साथै यो बेलामा हृदयको विकास भइसकेको हुन्छ र रक्त नलिमा रगतको विचरण गर्न थालेको हुन्छ । जहाँ गति हुन्छ त्यहाँको ताप बढ्छ र सार्वदैहिक तापको वृद्धिलाई नौनीले कम गर्छ । नौनीले शितलता प्रदान गर्छ जुन शिशुको लागि निकै राम्रो हो ।
साठी चामलः यो कालो बोक्रा भएको तथा रातो वर्णको चामल हो । यो (गदर)घैया जातको धान हो जुन असार महिनामा लगाइन्छ र कातिकको शुरु हप्तामै काटिन्छ । तराईमा मनाइने छठ पर्वमा यसैको खीर बनाईन्छ । |
पाँचौ महिना | दुध, दुधको परिकार + नौनी साठीचामलको भात + जांगल मांस दुध + १२ ग्रा. नौनी, अन्य औषधि |
साठी चामल एकदम बलकारक हुन्छ तथा यसमा मधुर रस पर्याप्त हुन्छ जुन मस्तिष्कको लागि चाहिन्छ । त्यसैगरी जंगली जनावरको मासु पौष्टीक र स्वस्थ्यबर्धक तथा धातुबर्धक पनि मानिन्छ । आयुर्वेदानुसार मासुले मासु बढाउँछ जुन गर्भस्थ शिशुको वृद्धि विकासमा सहयोग गर्छ । |
छैठौं महिना | दुध + गोक्षुरयुक्त घ्यू +औषधि अन्य दुधजन्य परिकार |
प्रायः गर्भस्थ शिशुको वृद्धिको कारणले आंशिक मुत्राबरोध हुने गर्छ त्यहाँ गोक्षुरले त्यो समस्यालाई कम गर्छ। |
सातौ महिना | दुध+घ्यू युक्त (पृश्निपर्णयादि गण+बला अतिबला शतपुष्पा) खीर यवागु+स्थापन बस्ती+अनुवासन वस्तीघृतखण्ड |
पृश्निपर्णिले जुकालाई मार्छ । गर्भाशयलाई बलियो बनाउँछ । तथा बच्चाको वृद्धि विकासलाई बढाउँछ ।
बला/अतिबलाः यो बलु जातको विरुवा हो जुन शक्तिबर्धक हुन्छ । यसले जच्चा र बच्चा दुबैको बल बढाउँछ । शतपुष्पाले तल्लो पेटको लागि राम्रो गर्छ र यसले दीपन पाचन गुल्म (गानोगोला) लाई पनि फाइदा गर्छ । यसले ठुलो आन्द्रामा राम्रो प्रभाव पारी कब्जियतलाई पनि ठीक गर्छ । सातौ महिनामा गर्भिणीलाई कब्जियत हुने गर्छ । ती समस्याहरुलाई यसले कम वा ठीक गर्छ । यवागुः जाउलो खिचडी जस्तो खाद्य पदार्थ जसको पाचन सजिलै हुन्छ । द्रव्य, सामग्री वा प्रकृया विशेषले यो २८ प्रकारका हुन्छन् । स्थापन बस्तिः दिसामार्ग वा योनी मार्गबाट क्वाथ औषधिको प्रयोग स्थापन बस्ति हो। अनुवासन वस्तिः दिसामार्ग वा योनी मार्गबाट औषधि युक्त बोसो, तेल वा स्नेहको प्रयोग अनुवासन वस्ति हो। |
आठौं महिना | दुध + यवागु अनुवासनवस्ति मधुरद्रव्य, तेल, मधुरद्रव्य घृतपुरक |
यो एउटा यन्त्रबाटऔषधिकृत तेल वा वसाले गुदा मार्गबाट गरिने प्रकृया हो। यसले कब्जियत ठीक गर्छ । यो योनी मार्गबाट पनि दिइने गरीन्छ। यो वस्ति दिँदा सुख प्रसाव हुन्छ । यसले कटी प्रदेशलाई स्नेहन गर्छ। यो प्रकृया अपनाउँदा अपरेशन गर्ने अवस्था निकै कम हुन्छ। |
नवौं महिना | वस्ति + योनीपिचु जांगल मांसरस + अन्नहरु |
योनी पिचुः औषधि युक्त बोसो, तेल वा स्नेहको पोको जुन योनी मार्गमा राखिन्छ जसले सहज प्रसब गराउन मद्दत गर्छ। यो प्रकृया अपनाउँदा अपरेशन गर्ने अवस्था निकै कम हुन्छ। |
यसरी उपरोक्त गर्भिणी परिचर्याको परिपालनले आमा र बच्चा दुबै स्वस्थ हुनुको साथै गर्भावस्थामा हुने समस्याहरु धेरै नै कम हुन्छ, साथै अप्रेशन गर्ने अवस्था पनि हुँदैन।
यसका अतिरिक्त स्थान विषेश र मौसमानुसार फलफुल खानु पर्छ । योग, ध्यान र व्यायामले पनि गर्भिणी र शिशुको वृद्धि विकासमा सहयोग गर्छ।
(लेखक नारायणी अञ्चल आयुर्वेद औषधालय हेटौडामा वरिष्ठ कविराज निरिक्षकको रुपमा कार्यरत छन् ।)