कांग्रेसले टुंग्यायो कर्णालीमा दुई मन्त्रीको नाम

२२ जेठ, सुर्खेत ।

नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा मन्त्री बन्ने आफ्ना दुईजना सांसदको नाम टुंग्याएको छ ।

कांग्रेस संसदीय दलको शुक्रबार साँझ बसेको बैठकले सामाजिक विकासमन्त्रीमा सुर्खेतका यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकासमन्त्रीमा जुम्लाका दिनबन्धु श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।

बैठकले बीसी र श्रेष्ठलाई मन्त्रीमा नियुक्त गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नाम समेत सिफारिस गरिसकेको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए ।

‘हिजोको दलको बैठकले सरकारमा जाने मन्त्रीको नाम टुंग्याएको हो,’ नेता शाहीले भने, ‘दलको नेताको हैसियतले आज मैले मन्त्रीमा नियुक्त गर्न मुख्यमन्त्री समक्ष सिफारिस पनि गरिसकेको छु ।’

आज बेलुका बस्ने प्रदेश मन्त्रीपरिषद्को बैठकले बीसी र श्रेष्ठलाई मन्त्री नियुुक्त गरेर आइतबार सपथ खुवाउने मुख्यमन्त्री निकट स्रोतले बताएको छ ।

कांग्रेसले गत वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई संसदमा विश्वासको मत दिएर साथ दिएको थियो । त्यसक्रममा नेकपा एमालेको माधव नेपाल समूहका चारजना सांसदले पनि फ्लोर क्रस गरी मुख्यमन्त्री शाहीको सत्ता जोगाइदिएका थिए ।

त्यस लगत्तै सरकारमा जाने सहमति भए पनि कांग्रेसले सरकारमा कसलाई पठाउने भन्ने विषयमा टुंगो लगाउन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here